काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बुधबार पदबहाली गरेका छन्। पदभार ग्रहण गर्दै उनले जाडोयाममा विद्युत् आपूर्तिमा समस्या आउन नदिने र लोडसेडिङ हुन नदिने प्रतिबद्धता जनाएका छन्।
दरबारमार्गस्थित प्राधिकरणको कार्यालयमा पदबहाली गर्दै कार्यकारी निर्देशक श्रेष्ठले नागरिकलाई सहज र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउनु आफ्नो प्रमुख प्राथमिकता रहेको बताए।
हिउँदयाममा विद्युत् आपूर्ति सहज बनाउन वैकल्पिक ऊर्जाका स्रोतको खोजी भइरहेको जानकारी दिँदै उनले ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले यस विषयमा टास्क फोर्स गठन गरेर काम अघि बढाएको बताए।
‘हामी जाडोयाममा विद्युत् आपूर्तिमा समस्या आउन दिँदैनौँ,’ श्रेष्ठले भने, ‘जनतालाई सेवा सुविधा र गुणस्तरीय बिजुली दिने कुरा नै मेरो प्राथमिकतामा रहन्छ।’
बाढीबाट क्षतिग्रस्त आयोजना पुनर्निर्माणमा जोड
कार्यकारी निर्देशक श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना तथा प्रसारण संरचनाको पुनर्निर्माण रहेको बताए।
बाढीबाट क्षतिग्रस्त परियोजनालाई राष्ट्रिय विद्युत् प्रणालीमा पुनः जोड्ने काम सुरु भइसकेको जानकारी दिँदै उनले सञ्चालनमा ल्याउन सकिने आयोजनालाई प्राथमिकताका साथ प्रणालीमा जोड्ने बताए।
उनका अनुसार पहिलो चरणमा क्षतिग्रस्त प्रसारण संरचनाको पुन:स्थापना गरिनेछ। त्यसपछि जलविद्युत् आयोजनामा थुप्रिएको मलबा हटाएर संरचनाको क्षतिको मूल्यांकन गरिने र सोही आधारमा पुनर्निर्माण अघि बढाइनेछ।
१३५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिर
बाढीका कारण चिलिमे हबमा सञ्चालनमा रहेको १३५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको श्रेष्ठले जानकारी दिए।
अन्य केही जलविद्युत् आयोजनालाई समेत राष्ट्रिय प्रणालीमा जोड्ने काम प्राधिकरणको तत्कालीन प्राथमिकतामा रहेको उनले बताए।
बाढीबाट प्राधिकरण तथा राज्यले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै श्रेष्ठले क्षतिग्रस्त आयोजनाको पुनर्निर्माणका लागि तत्कालीन तथा दीर्घकालीन रणनीति बनाएर अघि बढ्ने बताए।
सुनकोशी–३ को अध्ययनका लागि समिति गठन
पद बहालीसँगै श्रेष्ठले सुनकोशी-३ जलविद्युत् आयोजनाको विस्तृत डिजाइन तथा इन्जिनियरिङ अध्ययनका लागि छुट्टै समिति गठन गर्ने निर्णय गरेका छन्।
उनले सुनकोशी-३ को डिटेल डिजाइन र इन्जिनियरिङ अध्ययनका लागि समिति छिट्टै गठन गरिने बताए।
मन्त्रीबाट शपथ, त्यसपछि पदबहाली
कार्यकारी निर्देशक श्रेष्ठले बुधबार बिहान ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठबाट पद तथा गोपनीयताको शपथ लिएका थिए।
असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो।
पद बहालीपछि उनले विद्युत् आपूर्तिलाई नियमित र भरपर्दो बनाउने, बाढीबाट क्षतिग्रस्त ऊर्जा पूर्वाधारको पुनर्निर्माणलाई गति दिने तथा उपभोक्तालाई गुणस्तरीय सेवा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेर काम अघि बढाउने बताएका छन्।






