काठमाडौँ । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्डमा पहिरो पन्छाएपछि नारायणगढबाट पोखरातर्फको सवारी आवागमन खुला गरिएको छ।
चितवन प्रशासनका अनुसार सडकमा खसेको पहिरो हटाएपछि आज मध्याह्नदेखि नारायणगढ हुँदै पोखरातर्फ जाने सवारी साधनलाई सञ्चालन अनुमति दिइएको हो।
यद्यपि नारायणगढबाट काठमाडौँ जाने सडक भने अझै सञ्चालनमा आउन सकेको छैन। पृथ्वी राजमार्गको धादिङ खण्डका विभिन्न स्थानमा वर्षाका कारण पहिरो खसेपछि नारायणगढ-मुग्लिन हुँदै काठमाडौँ आउने-जाने सवारी आवागमन रोकिएको हो।
धादिङ प्रहरीले राजमार्गको विभिन्न सात स्थानमा पहिरो खसेको जनाएको छ। केही स्थानमा पहिरो हटाएर सडक खुलाइए पनि अन्य स्थानमा पन्छाउने काम जारी रहेकाले काठमाडौँ–नारायणगढ आवागमन पूर्ण रूपमा नियमित हुन नसकेको प्रहरीले जनाएको छ।
वर्षा जारी रहेकाले सडकको अवस्था हेरेर यात्रा गर्न तथा सम्बन्धित निकायबाट जारी सूचनालाई ध्यान दिन प्रशासनले यात्रु तथा चालकलाई आग्रह गरेको छ।






