काठमाडौँ। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ।
सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका प्रमुख (एसपी) खुमबहादुर केसीसँग उत्पन्न विवादबारे थप सोधपुछ तथा छानबिन गर्नुपर्ने भन्दै भन्सार विभागले अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाएको हो।
विभागले उनलाई तत्कालका लागि जिम्मेवारीबाट मुक्त गर्दै काठमाडौँको त्रिपुरेश्वरस्थित भन्सार विभागमा हाजिर हुन पत्राचार गरेको छ। उक्त विवादका सम्बन्धमा थप विवरण बुझ्ने र छानबिन गर्ने काम भइरहेको भन्सार विभागले जनाएको छ।






