काठमाडौँ । गुल्मी समाज हङकङले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहतका लागि रु. छ लाख ४९ हजार २९२ सहयोग गरेको छ ।
हङकङमा रहेका गुल्मेलीबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समाजका अध्यक्ष बाबुराम क्षेत्रीले जानकारी दिए ।
विपद्को समयमा आफूहरू जहाँ रहे पनि जन्मभूमिमा परेको पीडामा थोरै भए पनि सहयोग गर्ने र ऐक्यबद्धता जनाउनुपर्छ भन्ने उद्देश्यले समाजको तर्फबाट सहयोग गरिएको अध्यक्ष क्षेत्रीले बताए । उनको नेतृत्वमा उक्त रकम सङ्लन गरिएको समाजका सदस्य नरबहादुर बुढाथोकीले बताए । उनका अनुसार समाजले विपद्मा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभ तथा बेपत्ताको सकुशल उद्धारको कामना गरेको थियो ।
समाजले यसअघि पनि विभिन्न प्राकृतिक प्रकोप तथा विपद्का समयमा प्रभावितलाई सहयोग गर्दै आएको बुढाथोकीले बताए । उनका अनुसार बाढी, पहिरोलगायत विपदबाट प्रभावित गुल्मीका नागरिकसहित विभिन्न क्षेत्रका पीडितलाई समाजले सहयोग गर्दै आएको छ । समाजले विपद्का समयमा मानवीय सहयोग र सामाजिक ऐक्यबद्धतालाई निरन्तरता दिँदै आएको जनाएको छ ।






