काठमाडौँ। नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५औँ महाधिवेशनलाई पद र नेतृत्व व्यवस्थापनमा सीमित नगरी आत्मसमीक्षा, पुनर्जागरण र नीतिगत पुनर्संरचनाको अवसर बनाउनुपर्ने बताएकी छन्।
काठमाडौँको खुलामञ्चमा आइतबार सुरु भएको महाधिवेशनको उद्घाटन सत्रमा भुसालले जनतामा पार्टीप्रतिको विश्वास बढाउन र नयाँ पुस्ताका आकाङ्क्षा सम्बोधन गर्न निर्मम आत्मसमीक्षा आवश्यक रहेको बताएकी छन्। महाधिवेशनबाट फर्कँदा प्रतिनिधिहरूसँग जनतामाझ जाने स्पष्ट प्रतिबद्धता र ऊर्जा हुनुपर्ने उनको भनाइ छ।
‘यो महाधिवेशन केवल पद प्राप्ति वा पद व्यवस्थापनका लागि मात्र भइरहेको छैन । नेपाली काँग्रेसका नेता तथा कार्यकर्तामात्र होइन, लोकतान्त्रिक विचारधारामा विश्वास गर्ने सम्पूर्ण नेपालीले आत्मसमीक्षा गर्ने अवसरका रूपमा यस महाधिवेशनलाई लिनुपर्दछ,’ उनले भनेकी छन्।
आन्तरिक लोकतन्त्र र निर्णयमा पारदर्शिताको आग्रह
भुसालले पार्टीको आन्तरिक लोकतन्त्रलाई समावेशी र संस्थागत बनाउँदै केन्द्रीय तहका निर्णय पारदर्शी रूपमा तल्लो तहसम्म पुर्याउनुपर्नेमा जोड दिएकी छन्। काँग्रेसको वर्तमान अवस्थाको समीक्षा गर्दै भविष्यको स्पष्ट मार्गचित्र तय गर्नु महाधिवेशनको जिम्मेवारी भएको उनले बताएकी छन्।
‘पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई अझ लोकतान्त्रिक, समावेशी र सुदृढ बनाउन हामी तयार छौँ कि छैनौँ ? यसको जवाफ लिएर हामी जिल्लामा फर्कनुपर्छ,’ उनले भनेकी छन्।
संविधान, कानुनी शासन र मानव अधिकार विपरीतका अलोकतान्त्रिक अभ्यास काँग्रेसलाई स्वीकार्य नहुने उनको भनाइ छ। उनले बिपी कोइरालाको लोकतान्त्रिक समाजवाद र राष्ट्रियताको सिद्धान्तलाई महाधिवेशनको मूल मर्म बनाउनुपर्ने बताएकी छन्।
नयाँ पुस्ताको आकाङ्क्षा र महिलाको निर्णायक सहभागिता
भुसालले ‘जेन जेड’ पुस्ताले खोजिरहेको सुशासन, रोजगारी र भ्रष्टाचारमुक्त समाजको आकाङ्क्षालाई काँग्रेसले सम्बोधन गर्नुपर्ने बताएकी छन्। नयाँ पुस्ताको सपना र भरोसासँग जोडिने गरी पार्टी अघि बढ्नुपर्नेमा उनले जोड दिएकी छन्।
महिलाले आन्दोलन, निर्वाचन र समाज सञ्चालनमा आफ्नो क्षमता प्रमाणित गरिसकेको उल्लेख गर्दै उनले पार्टी र राज्यको नीति निर्माण तहमा उनीहरूको निर्णायक उपस्थिति सुनिश्चित गर्नुपर्ने माग गरेकी छन्।



