काठमाडौँ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति डा. ओजश्वी शेरचनले अब बन्ने विद्यालय शिक्षा ऐनमा प्रारम्भिक बाल विकासलाई स्पष्ट पहिचानसहित समेट्न पहल गर्ने बताएकी छन्।
उनले रटानमा आधारित पद्धतिको सट्टा बाल केन्द्रित, सिर्जनशील र खेलमा आधारित सिकाइलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकी छन्।
आइतबार काठमाडौँमा सरोकारवालासँगको छलफलमा शेरचनले प्रारम्भिक बाल विकासलाई प्रभावकारी बनाउन वैज्ञानिक प्रमाणमा आधारित नीति र नेपालको सामाजिक परिवेश अनुकूल शिक्षा प्रणाली आवश्यक रहेको बताएकी छन्।
तीन तहका सरकारको जिम्मेवारी स्पष्ट गर्नुपर्ने
शेरचनले प्रारम्भिक बाल विकास केन्द्रमा बाल केन्द्रित र खेलमा आधारित सिकाइ भए–नभएको स्थानीय तहले नियमित अनुगमन तथा निरीक्षण गर्नुपर्ने बताएकी छन्। त्यसका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारको जिम्मेवारी कानुनमै स्पष्ट गर्नुपर्ने उनको भनाइ छ।
‘हामीले यसको लागि तीन तहको सरकारको जिम्मेवारी पनि स्पष्ट रूपमा बाँडफाँड गर्नुपर्ने आवश्यकता रहेको छ,’ उनले भनेकी छन्।
उनले भारतलगायत अन्य मुलुकका प्रारम्भिक शिक्षासम्बन्धी अभ्यासबाट सिक्न सकिने उल्लेख गरेकी छन्। त्यस्ता अभ्यासलाई नेपालको कला, संस्कृति, समुदायको आवश्यकता र सामाजिक परिवेशसँग मिलाएर शिक्षा प्रणाली विकास गर्नुपर्नेमा उनको जोड छ।
सरोकारवालाका सुझाव सम्बोधन गर्ने प्रतिबद्धता
छलफलमा शेरचनले नेपालमा करिब १२ लाख २० हजार ५३८ बालबालिका प्रारम्भिक बाल विकासमा सहभागी रहेको तथ्यांक प्रस्तुत गरेकी छन्।
उनले विद्यालय शिक्षा ऐनमा प्रारम्भिक बाल विकाससम्बन्धी व्यवस्था गर्दा सरोकारवालाका माग र सुझावलाई अधिकतम सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।



