काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले मन्त्रालय र मातहतका निकायमा कार्यरत कर्मचारीसँग सरुवाका लागि आवेदन माग गरेको छ। मन्त्रालयले कर्मचारीको सरुवा तथा पदस्थापनलाई व्यवस्थित, निष्पक्ष, पारदर्शी, वस्तुगत, अनुमानयोग्य र विश्वसनीय बनाउने उद्देश्यले आवेदन माग गरेको हो।
मन्त्रालयले ‘पूर्वाधार विकास मन्त्रालयको सरुवा मापदण्ड, २०८३’ स्वीकृत गरी वेबसाइटमा सार्वजनिक गरेको जनाएको छ। सोही मापदण्डअनुसार सरुवा हुन इच्छुक कर्मचारीले तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ।
सरुवाका लागि आवेदन दिने कर्मचारीले आफूले रोजेका निकाय तथा कार्यालयमध्ये कम्तीमा तीन र बढीमा पाँचवटा निकाय छनोट गर्नुपर्ने व्यवस्था गरिएको छ।
कर्मचारीले मापदण्डअनुसारको फाराम भरी मन्त्रालयले तोकेको इमेल ठेगाना एसएआरयूडब्ल्यूए डट २०८३ एट एमओआईडी डट जीओभी डट एनपी मा पठाउनुपर्नेछ।
मन्त्रालयले सरुवाका लागि राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारी र अन्य तहका कर्मचारीका लागि छुट्टाछुट्टै समयसीमा तोकेको छ।



