काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्र कुमार पौडेलले स्थानीय तहसम्म विस्तार भएको हुलाक सञ्जाललाई एकीकृत सार्वजनिक सेवा सञ्जालका रूपमा विकास गर्न सकिने बताएका छन्।
१५२औँ विश्व हुलाक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई समेत समान र सहज रूपमा सार्वजनिक सेवा उपलब्ध गराउन हुलाक सञ्जालको उपयोग गर्न सकिने विश्वास व्यक्त गरेका हुन्।
सचिव पौडेलले प्रविधिमा आएको तीव्र परिवर्तनसँगै नेपाल हुलाकलाई प्रविधिमैत्री बनाउँदै सेवाको विविधीकरण, आधुनिकीकरण, डिजिटल रूपान्तरण तथा सेवा प्रवाहमा सुधार गर्ने नीति सरकारले अघि बढाएको उल्लेख गरेका छन्।
उनका अनुसार हुलाक सेवा विभागले सरकारी निकाय तथा निजी क्षेत्रसँगको सहकार्य, डिजिटल प्रविधिको प्रयोग र विद्युतीय व्यापारसँगको आबद्धतामार्फत हुलाक सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने नीति, योजना तथा कार्यक्रम अघि बढाउँदै आएको छ।
नेपालको संविधान, हुलाक ऐन, २०१९, हुलाक नियमावली, २०२० तथा विश्व हुलाक संघ, एसिया-प्रशान्त हुलाक संघ र सर्वव्यापी सेवा दायित्वका सिद्धान्तले नेपालको हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र व्यावसायिक बनाउन मार्गदर्शन गर्दै आएको उनले उल्लेख गरेका छन्।
संघीय संरचनाअनुसार पुनः संरचना भई स्थानीय तहसम्म पहुँच विस्तार गरेको हुलाक सेवालाई थप सक्षम, पारदर्शी, जवाफदेही र जनउत्तरदायी बनाउनुपर्नेमा उनले जोड दिएका छन्। सरकार र नागरिकबीचको विश्वासिलो माध्यमका रूपमा हुलाक सेवाको विकास गर्नु सबैको साझा जिम्मेवारी रहेको उनको भनाइ छ।
नेपालमा विक्रम संवत् १९३५ मा ‘नेपाल हुलाक घर’ स्थापना गरी औपचारिक रूपमा हुलाक सेवा सुरु भएको थियो। नेपालले सन् १९५६ अक्टोबर ११ अर्थात् विक्रम संवत् २०१३ असोज २६ गते विश्व हुलाक संघको सदस्यता प्राप्त गरेको थियो।
विश्व हुलाक संघ स्थापनाको १५२औँ वर्षका अवसरमा असोज २३ गते ‘एक हुलाक सञ्जाल, अनगिन्ती सम्भावना’ भन्ने नाराका साथ विश्व हुलाक दिवस मनाइँदै छ।
सचिव पौडेलले हुलाक सेवालाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी र सुदृढ बनाउँदै जनताको आफ्नै सेवाका रूपमा विकास गर्न दिवसले हुलाककर्मीलाई थप प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। उनले सम्पूर्ण हुलाककर्मी, सेवाग्राही, शुभचिन्तक तथा सरोकारवालालाई शुभकामना दिएका छन्।



