पाकिस्तान । उत्तर-पश्चिम पाकिस्तानको पेशावर सहर स्थित एक निजी विद्यालयको छाना खस्दा बिहीबार एक जना शिक्षकसहित २१ जना विद्यार्थीको मृत्यु भएको अस्पतालका अधिकारीले बताएका छन् ।
पेशावरस्थित ‘लेडी रिडिङ अस्पताल’ का अधिकारी आसिम खानले मृतकको सङ्ख्या पुष्टि गर्दै ३० जनाभन्दा बढी घाइते भएको र तीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले विज्ञप्ति जारी गर्दै घटनामा भविष्यका कर्णधारहरुको बहुमूल्य जीवन गुमेको घटनाप्रति गहिरो दुःख र शोक व्यक्त गरेका छन् ।
विज्ञप्ति मार्फत प्रधानमन्त्री सरिफले शोकाकुल परिवारहरूप्रति समवेदना प्रकट गरेको छ भने उनीहरूलाई यो अपूरणीय क्षति सहन सक्ने शक्ति तथा धैर्य प्राप्त होस् भनी कामना गरेका छन् ।
करिब २४ करोडभन्दा बढी जनसङ्ख्या भएको दक्षिण एसियाली मुलुक पाकिस्तानमा कमजोर सुरक्षा मापदण्ड र निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोगका कारण भवन वा छाना खस्ने घटनाहरू पटक–पटक हुने गरेको जनाइएको छ ।
यस वर्षको जुन महिनामा पूर्वी सहर लाहोरस्थित एक ट्युसन केन्द्रमा छाना खसेर भएको दुर्घटनामा एक दर्जनभन्दा बढी बालबालिकाको मृत्यु भएको थियो ।
सन् २०२५ मा, दक्षिणी सहर कराँचीको गरिबी बस्ती लियारीमा पाँच तले भवन भत्किँदा २७ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए ।
भग्नावशेषबाट पीडितहरूलाई निकाल्नको लागी उद्धार प्रयास भइरहेको जनाइएको छ भने प्रहरीले विद्यालय भवन भत्किनुको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेको बताएको छ ।



