काठमाडौँ । धनकुटा, उदयपुर र भोजपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
भोजपुरबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको मोटरबोट दुर्घटनामा परेको हो । दुर्घटनामा तीन जना बेपत्ता भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । मोटरबोटमा १६ जना सवार रहेको अनुमान गरिएको छ ।
दुर्घटनालगत्तै बेपत्ताहरूको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बलका विभिन्न टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. १ बाहिनीबाट पाँच गोताखोरसहित नौ जना, सुरक्षा बेस रामपुरबाट छ जना र विपद् व्यवस्थापन बेस चतराबाट नौ जना गरी कुल २४ जना सुरक्षाकर्मी घटनास्थलमा खटिएका छन् ।
सुरक्षाकर्मीको टोलीले बेपत्ताहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएको छ । दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी छ ।




