काठमाडौँ । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले इनम सापकोटासँग जोडेर आफ्नो नाम उल्लेख गरिएका समाचार आधारहीन र कपोलकल्पित भएको भन्दै खण्डन गरेका छन्। सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै उनले सम्बन्धित व्यक्ति तथा प्रसंगसँग आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका हुन्।
बिहीबार विज्ञप्ति जारी गर्दै प्रधान न्यायाधीश शर्माले सञ्चारमाध्यममा आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आश्चर्यचकित र स्तब्ध भएको बताएका छन्।
‘जुन प्रसंग जोडी मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्तिहरू एवं प्रसंगमा मेरो कुनै संलग्नता छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘ती व्यक्तिहरूसँग मेरो प्रत्यक्ष एवं परोक्ष रूपमा चिनजान, सम्पर्क समेत छैन। मैले कहिल्यै भेटेको पनि छैन।’
उनले समाचारमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनामा आफू प्रधानन्यायाधीशको जिम्मेवारीमा समेत नरहेको उल्लेख गरेका छन्।
प्रधान न्यायाधीश शर्माले आफ्नो नाम जोडेर प्रकाशित समाचारलाई झुट्टा र कपोलकल्पित भएको दाबी गर्दै त्यसको उद्देश्य जनतामा भ्रम सिर्जना गर्नु रहेको बताएका छन्। उनले यस्ता समाचारप्रति विश्वास नगर्न सर्वसाधारणलाई आग्रहसमेत गरेका छन्।
‘यसरी आधारहीन, झुट्टा, कपोलकल्पित र जनतामा भ्रम छर्ने दूषित उद्देश्यबाट प्रसारित समाचारको म भर्त्सना गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ।
उनले आधारहीन र कपोलकल्पित समाचारको भ्रममा नपर्न सम्पूर्ण जनमानसलाई अनुरोध गरेका छन्। प्रधान न्यायाधीशको नामसमेत जोडेर समाचार सार्वजनिक भएपछि उनले सर्वोच्च अदालतको आधिकारिक लेटरहेडमा हस्ताक्षरसहित आफ्नो धारणा सार्वजनिक गरेका हुन्।





