काठमाडौँ । नयाँ पत्रिका दैनिकको कार्यालयमा पुगेको सादा पोसाकको प्रहरी टोली करिब साढे दुई घण्टापछि फर्किएको छ। प्रहरीले सम्पादक खगेन्द्र पन्त र वरिष्ठ संवाददाता नवराज मैनालीलाई शनिबार बिहान १० बजे साइबर ब्युरोमा उपस्थित हुन मौखिक सूचना दिएको बताइएको छ।
पत्रकार यम बमका अनुसार शुक्रबार साँझ सवा ५ बजे नयाँ पत्रिकाको पुतलीसडकस्थित कार्यालयमा पुगेको प्रहरी टोली राति पौने ८ बजे बाहिरिएको हो।
प्रहरीले कार्यालय छाड्नुअघि सम्पादक पन्त र वरिष्ठ संवाददाता मैनालीलाई भोलिपल्ट बिहान साइबर ब्युरोमा उपस्थित हुन मौखिक रूपमा भनेको बमले जनाएका छन्।
प्रहरी टोली कार्यालयमा रहँदा नेपाल पत्रकार महासंघका प्रतिनिधिसहित पत्रकारहरू नयाँ पत्रिका दैनिकको कार्यालयबाहिर उपस्थित भएका थिए।
यसअघि शुक्रबार विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको तथा केही सञ्चारगृहमा प्रहरी पुगेको विवरण सार्वजनिक भएको थियो। ती घटनाप्रति प्रेस काउन्सिल नेपाललगायत पत्रकार सम्बद्ध संस्थाहरूले आपत्ति जनाएका छन्।




