काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) मा भएको भनिएको आर्थिक अनियमिततामा संलग्न रहेको आरोपमा संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ आर्थिक हानि पुर्याएको आरोपमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।
नेपाल सरकारको स्वामित्वमा रहेको संस्थानका तत्कालीन महाप्रबन्धक तथा कर्मचारीहरूको संलग्नतामा कानुनविपरीत काम भएको भन्ने उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको ब्युरोले जनाएको छ। अनुसन्धानका क्रममा तत्कालीन महाप्रबन्धक, संस्थानका उच्च तहका अधिकारी तथा कर्मचारीहरूको पूर्वनियोजित योजना र मिलेमतोमा विभिन्न समूह खडा गरी संस्थानलाई आर्थिक हानि पुर्याएको आरोप छ।
ब्युरोका अनुसार उक्त गतिविधिबाट संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ हानि भएको देखिएको छ। घटनामा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको आपराधिक विश्वासघात तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा संस्थानका तत्कालीन महाप्रबन्धक तथा हाल दुग्ध विकास संस्थान लेनचौरको प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखका रूपमा कार्यरत काठमाडौँ महानगरपालिका-१६, वनस्थलीका ४५ वर्षीय सञ्जीव झा रहेका छन्।
त्यस्तै, दुग्ध वितरण आयोजना बालाजुमा जुनियर टेक्निकल असिस्टेन्टका रूपमा कार्यरत ४६ वर्षीय विजय कुमार यादव, संस्थानको केन्द्रीय कार्यालय लेनचौरमा कार्यरत ५५ वर्षीया मन्दरी शर्मा र दुग्ध वितरण आयोजना संकलन केन्द्रमा कार्यरत ४९ वर्षीय रामकेवल राय पनि पक्राउ परेका छन्।
पक्राउ पर्ने अन्यमा चितवनका २८ वर्षीय जितेन्द्र कुमार यादव, सर्लाहीका ३२ वर्षीय नवीन राय यादव, चितवनका ४६ वर्षीय शिव नन्दन राय र चितवनकै ४८ वर्षीय विश्व बहादुर भण्डारी रहेका छन्। उनीहरू संस्थानसँग सम्बन्धित विभिन्न कार्यालय तथा आयोजनामा कार्यरत रहेको ब्युरोको विवरणमा उल्लेख छ।
केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार पक्राउ परेका आठै जनालाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको छ। ब्युरोले उनीहरूलाई कात्तिक १३ गते विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ।




