काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समाचार लेखेको आधारमा पत्रकारहरूलाई कार्यालयमै पुगेर नियन्त्रणमा लिएको घटनाप्रति आपत्ति जनाएको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै रास्वपाले नियन्त्रणमा लिइएका सञ्चारकर्मीलाई ससम्मान र बिनासर्त तत्काल रिहा गर्न सम्बन्धित निकायसँग माग गरेको हो।
पार्टी प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई प्रहरीले कार्यालयमै पुगेर नियन्त्रणमा लिएको तथा अन्य पत्रकारहरूको खोजी जारी राखेको समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। लोकतान्त्रिक व्यवस्थामा सञ्चार क्षेत्रको भूमिकालाई कमजोर बनाउने गतिविधि स्वीकार्य नहुने रास्वपाको धारणा छ।
रास्वपाले विधिको शासन लोकतान्त्रिक राजनीतिक प्रणालीको अनिवार्य सर्त भएको उल्लेख गर्दै कानुन कार्यान्वयनका नाममा स्वतन्त्र प्रेसलाई भयभीत बनाउने तथा सञ्चारगृहको गरिमामाथि प्रहार गर्ने कार्यशैलीप्रति असहमति जनाएको छ। नागरिकको आवाज मुखरित गर्ने सञ्चार क्षेत्र लोकतन्त्रको अभिन्न अंग भएको पार्टीले जनाएको छ।
कुनै सञ्चारमाध्यमले प्रकाशन गरेको सामग्रीमाथि कानुनी प्रश्न उठेमा त्यसको परीक्षण र निरूपणका लागि राज्यले स्थापना गरेका विधि, न्यायिक प्रक्रिया तथा वैधानिक निकायहरू क्रियाशील रहेको रास्वपाले स्मरण गराएको छ। त्यस्ता प्रक्रिया अवलम्बन नगरी सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको उल्लंघन भएको पार्टीको ठहर छ।
विज्ञप्तिमा पत्रकारिताको विश्वव्यापी मूल्य, मान्यता र अभ्यासअनुसार समाचारको स्रोतको गोपनीयता कायम राख्नु सञ्चारकर्मीको व्यावसायिक अधिकार र दायित्व भएको उल्लेख छ। समाचार लेखेकै आधारमा पत्रकारलाई नियन्त्रणमा लिएर अन्यको खोजी जारी राखिएको भन्ने विषयमा निष्पक्ष, पारदर्शी र यथार्थ छानबिन गरी वास्तविक तथ्य सार्वजनिक गर्न रास्वपाले माग गरेको छ।
पार्टीले कुनै पनि भय, त्रास वा अनुचित दबाबका अगाडि नझुकी निर्भीकतापूर्वक सत्य, तथ्य र निष्ठाको पत्रकारितालाई निरन्तरता दिन सञ्चारकर्मीलाई आग्रह गरेको छ। पत्रकारहरूको पेसागत मर्यादा, भौतिक तथा मनोवैज्ञानिक सुरक्षा र संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको रक्षामा आफू प्रतिबद्ध रहेको रास्वपाले जनाएको छ।




