काठमाडौँ । बझाङको केदारस्युँ गाउँपालिका-७, भानचौरमा बुधबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
भानचौरबाट काँडाचौरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ च ४३७६ नम्बरको जिप बिहान करिब ९ बजेर १० मिनेटमा दुर्घटनामा परेको हो। प्रहरीका अनुसार ब्रेक फेल भएपछि जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो।
दुर्घटनामा केदारस्युँ गाउँपालिका-७, काँडाचौरकी अन्दाजी २७ वर्षीया पविता धामी र सोही स्थानका ४० वर्षीय गोपाल धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा केदारस्युँ गाउँपालिका-७ का ४५ वर्षीय प्रमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी र २२ वर्षीया रेखा धामी रहेका छन्।
त्यसैगरी, दुर्गाथली गाउँपालिका-६ की ४२ वर्षीया शारदा धामी जाग्री र सोही स्थानका ४२ वर्षीय रामकुमार धामी पनि दुर्घटनामा घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेको जिपमा सवार यात्रुहरूको विवरण संकलन भइरहेको छ। दुर्घटनाको कारण तथा अन्य परिस्थितिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




