काठमाडौँ । रुकुम पूर्वमा जटिल प्रसूति समस्या देखिएकी एक महिलाको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरिएको छ। पुथा उत्तरगंगा गाउँपालिका-५ निवासी महिलालाई शुक्रबार थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएको हो।
नेपाली सेनाका अनुसार महिलामा जटिल प्रसूति समस्या देखिएपछि तत्काल थप उपचार आवश्यक भएकाले हवाई उद्धार गरिएको हो।
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत उनलाई अस्पताल पुर्याइएको सेनाले जनाएको छ।
दुर्गम क्षेत्रमा जटिल प्रसूति समस्या देखिएका गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुविधा सम्पन्न अस्पतालसम्म पुर्याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन हुँदै आएको छ।
नेपाली सेनाले सरकारी कार्यक्रमअन्तर्गत उपलब्ध गराएको हवाई साधनबाट महिलालाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको हो।





