सुर्खेत । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले जेन जेड आन्दोलनका क्रममा घाइते भएका सन्तोष बोहरालाई उनकै निवासमा पुगेर भेट गरेकी छन्।
मन्त्री बादीले सुर्खेतको वीरेन्द्रनगरस्थित बोहराको घरमा पुगेर उनको स्वास्थ्य अवस्था, उपचारपछिको स्थिति तथा परिवारले सामना गरिरहेका समस्याबारे जानकारी लिएकी हुन्।
भेटका क्रममा उनले घाइते बोहराको पारिवारिक अवस्थाबारे चासो राख्दै परिवारको शिक्षा, रोजगारी तथा सामाजिक सुरक्षासम्बन्धी आवश्यकतामा सहयोग पुर्याउने प्रतिबद्धता जनाइन्।
मन्त्री बादीले बोहराकी छोरीको पढाइलाई निरन्तरता दिन आवश्यक सहयोग गर्ने र श्रीमतीका लागि रोजगारीको अवसर जुटाउन सम्बन्धित निकायसँग पहल गर्ने बताइन्।
त्यसैगरी, परिवारलाई उपलब्ध गराउन सकिने अन्य सेवा तथा सुविधाका विषयमा सरोकारवाला निकायसँग समन्वय र सहजीकरण गर्ने उनको भनाइ थियो।
जेन जेड आन्दोलनका घाइते तथा प्रभावित परिवारको पुनर्स्थापनामा शिक्षा, रोजगारी र सामाजिक सुरक्षाका विषयलाई समेत सम्बोधन गर्नुपर्नेमा मन्त्री बादीले जोड दिइन्।





