‘एउटा कार्यालयमा मैले मात्रै चाहेर सबै कुरा परिवर्तन हुँदैन। तल्लो तहका कर्मचारीको अवस्था बुझेर समन्वय र सहभागितामूलक निर्णयबाट काम गर्नुपर्छ।’
कुनै समय बसको ढोकामा उभिएर यात्रु बोलाउने, सामान मिलाउने, भाडा उठाउने र चालकको निर्देशनमा काम गर्ने किशोर थिए प्रेमबहादुर बुढा। जाजरकोटमा कक्षा ९ पढ्दै गर्दा जीवन धान्ने बाध्यताले उनलाई विद्यालयबाट बसको सहचालकको काममा पुर्याएको थियो। नियमित तलब थिएन, खाना र बस्न पाउनु नै कामको सर्त थियो। अभावका ती दिनमा उनको तत्कालीन सपना ठूलो सरकारी पदमा पुग्ने थिएन: पढाइलाई कम्तीमा एसएलसीसम्म पुर्याउने र गाडी चलाउन सिकेर आत्मनिर्भर बन्ने थियो। सहचालकबाट चालक बनेका उनी पछि सरकारी कार्यालयको गाडी चलाउन पुगे। अहिले त्यही यात्राले उनलाई शाखा अधिकृत पदको प्रतिस्पर्धामा सफल बनाएको छ। लोक सेवा आयोगले २०८३ कात्तिक २१ गते प्रकाशित गरेको नतिजाअनुसार बुढा विज्ञापन नम्बर १६७०३/०८२-८३ (आदिवासी जनजाति) अन्तर्गत शाखा अधिकृत पदमा योग्यताक्रमको तेस्रो स्थानमा सिफारिस भएका हुन्।
तर बुढाको कथाको अर्को महत्त्वपूर्ण पक्ष सरकारी कार्यालयको गाडी चलाउँदाका अनुभवसँग जोडिएको छ। २०७३ साल वैशाख १ गतेदेखि जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटमा चालकका रूपमा काम गरेका उनले कर्मचारीलाई कार्यालय पुर्याउने मात्र होइन, आवश्यक पर्दा एम्बुलेन्स चलाएर बिरामीलाई सुर्खेत र नेपालगञ्जसम्म पुर्याउने जिम्मेवारी पनि निर्वाह गरे। जिल्लामै उपलब्ध हुनुपर्ने उपचारका लागि चिकित्सक नहुँदा बिरामी बाहिर पठाउनुपरेको अवस्था उनको स्मृतिमा अझै ताजा छ। पीडाले छटपटाइरहेका बिरामीलाई लिएर अस्पतालतर्फ गाडी हाँक्दा उनी सोच्थे-यस्तो दु:ख किन भोग्नुपरेको होला ? व्यवस्थापनमा कहाँ कमजोरी छ ? कुनै दिन जिम्मेवारी लिने ठाउँमा पुगियो भने के गर्न सकिएला ?
उनको जीवनमा श्रमसँगै सम्मानको प्रश्न पनि उत्तिकै गहिरो छ। सहचालक हुँदा ‘खलासी’ र चालक हुँदा ‘ड्राइभर’ भनेर गरिने हेपाहा व्यवहार उनले भोगेका छन्। सरकारी कार्यालयभित्र पनि ‘ड्राइभर त हो, यसलाई के थाहा हुन्छ ?’ भन्ने दृष्टिकोण महसुस गरेको बताउँछन्। तर उनले देखेको कर्मचारीतन्त्र कमजोरीले मात्रै भरिएको थिएन। कठिन द्वन्द्वकालीन अवस्थामा समेत सेवा निरन्तर राख्ने कर्मचारीको समर्पण पनि उनले देखे। त्यही अनुभवले उनलाई सरकारी सेवाको सुधार केवल माथिल्लो पदमा पुगेर आदेश दिने विषय होइन, तल्लो तहका कर्मचारीको अवस्था बुझ्ने, उनीहरूलाई सम्मान गर्ने र नागरिकलाई समयमै सेवा दिने सामूहिक जिम्मेवारी हो भन्ने बुझाइ दिएको छ।
बाल्यकालमै बुवाको साथ गुमाएका बुढाले मामाघर र ठूलोबुवाको घरमा आश्रय लिए, पढाइ छुटेपछि फेरि सुरु गरे र नियमित आम्दानी हुने चालकको जागिरसमेत छाडेर लोक सेवाको तयारी रोजे। त्यसबेला घर बनाउँदाको करिब १० लाख रुपैयाँ ऋण थियो, साढे दुई वर्षकी छोरी थिइन् र जागिर नछाड्न आफन्तहरूको दबाब थियो। श्रीमतीको साथ र आफ्नै निर्णयप्रतिको विश्वासले उनी अघि बढे। आज उनको उपलब्धिलाई व्यक्तिगत संघर्षको सफलताका रूपमा चर्चा गरिँदै गर्दा प्रशासन डटकमले भने उनै बुढासँग सहचालकदेखि सरकारी चालक हुँदै प्रशासनिक जिम्मेवारीसम्मको यात्रा, नागरिक र कर्मचारीका आँखाबाट देखेको कर्मचारीतन्त्र तथा अब सार्वजनिक सेवा सुधार्न के गर्न सकिन्छ भन्ने विषयमा कुराकानी गरेको छ। उनी आफ्नो अधिकार र कानुनको सीमाभित्र रहेर छिटोछरितो, स्वच्छ र निष्पक्ष सेवा दिनुपर्ने बताउँछन्। प्रस्तुत छ, प्रशासन डटकमका समाचार प्रमुख एस राज उपाध्यायसँग प्रेमबहादुर बुढाले गरेको विस्तृत कुराकानी :
सानैमा बुवा गुमाउनुभयो, पारिवारिक अभाव झेल्नुभयो र पढाइकै क्रममा सहचालक बन्नुभयो। ती कठिन दिनमध्ये आज पनि बिर्सन नसक्ने कुनै एउटा घटना के हो ? त्यसले तपाईंको जीवन र सोचमा कस्तो प्रभाव पार्यो ?
मैले बिर्सन नसक्ने भनेको सानैमा मामाको घरमा बसेको समय हो। केही समय मामाको घरमा बसेँ। त्यसपछि ठूलोबुवाको घरमा गएँ। कक्षा ९ पढ्दै गर्दा गाडीमा हिँड्न थालेँ। सुरुमा खाना र बस्न मात्रै पाउने सहमतिमा गाडीमा काम गर्न गएको थिएँ। त्यतिबेला अरू सुविधा केही थिएन।
त्यसरी काम गर्न थालेको तीन-चार महिना भएको थियो। एक दिन नुहाउन जाँदा लगाइराखेका भित्री कपडा खोल्दा त्यसमा एकदमै धेरै जुम्रा परेका थिए। यति धेरै थिए कि मैले सबै मार्न पनि सकिनँ। धेरैजसो पानीमै बगाएँ। त्यो घटना अहिले पनि झलझली सम्झिन्छु। एकदमै बिर्सन नसक्ने घटना हो। मलाई त्यो आफ्नो जीवनको एउटा टर्निङ प्वाइन्टजस्तै लाग्छ।
बसमा सहचालक हुँदा र पछि सरकारी गाडी चलाउँदा कस्ता अनुभव बटुल्नुभयो ? कुनै त्यस्तो घटना छ, जसले तपाईंलाई चालकको कामसँगै पढाइलाई निरन्तरता दिन र निजामती सेवामा प्रवेश गर्न प्रेरित गर्यो ?
सहचालक हुँदा मैले फेरि कक्षा ९ मा भर्ना भएर पढाइ सुरु गरेँ। त्यतिबेला मेरो एउटै सोच थियो, जसरी भए पनि एसएलसीसम्म पढाइ सकाउनुपर्छ। एसएलसी दिएपछि कम्तीमा एउटा शैक्षिक प्रमाणपत्र त हुन्छ भन्ने लागेको थियो। त्यो बेला बाहिरबाट विशेष प्रेरणा पाएको भन्दा पनि आफैँले एसएलसीसम्म पढ्नुपर्छ भन्ने सोच बनाएको थिएँ।
त्यतिबेला सरकारी जागिर खाने भन्ने कुरा कतै पनि सोचेको थिइनँ। मेरो एउटै योजना थियो, चालक बन्ने र गाडी चलाएर जीविकोपार्जन गर्ने। गाडी चलाउन सकेपछि आफ्नो हातमा एउटा सीप हुन्छ, त्यसबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने सोच थियो।
त्यसपछि काम गर्दै जाँदा सरकारी कार्यालयबाट पनि प्रस्ताव आयो। ‘हाम्रो कार्यालयमा आइदिनुपर्यो। तपाईं जतिको मेहनती र राम्ररी चलाउने मान्छे आयो भने हामीलाई पनि सहज हुन्छ,’ भन्नुभयो। त्यसरी सरकारी कार्यालयमा प्रवेश गरेपछि कर्मचारीहरूसँग घुलमिल हुँदै गएँ। सरकारी जागिर भनेको के रहेछ, यहाँ मानिसहरू कसरी आउँदा रहेछन्, जागिर कसरी खुल्दो रहेछ भन्ने कुरा बिस्तारै बुझ्दै गएँ। सरकारी सेवाप्रतिको मेरो चासो त्यसपछि बढ्दै गएको हो।
सरकारी कार्यालयमा चालकका रूपमा काम गर्न आउने अवसर कसरी मिल्यो ? तपाईंलाई कसले प्रस्ताव गर्नुभएको थियो ?
त्यतिबेला म जाजरकोटमा नीजि डबल क्याब गाडी चलाउँथे । स्वास्थ्य कार्यालयको गाडी नहुँदा स्वास्थ्यका सामानहरू गाउँतिर लैजान उहाँहरूले मैले चलाउने गाडी भाडामा लिनुहुन्थ्यो। त्यसरी मैले धेरै पटक स्वास्थ्यका सामग्री बोकेर गाउँगाउँ गएको थिएँ।
त्यतिबेला त्यहाँका प्रमुख पनि मसँग धेरै पटक हिँड्नुभएको थियो। उहाँहरूले मलाई ‘तपाईं जतिको यसरी सुरक्षित तरिकाले गाडी चलाउने मान्छे हामीलाई चाहिन्छ,’ भन्नुभएको थियो। मेरो पढाइ कति छ भनेर पनि सोध्नुभयो। मैले एसएलसी सकेको छु, अब प्लस टु गर्दै छु भनेर बताएँ। त्यसपछि उहाँले हाम्रो कार्यालयमा आइदिनु भनेर सकारात्मक कुरा गर्नुभयो।
त्यतिबेला अस्पताल विकास समितिका अध्यक्षज्यूले पनि ‘प्रेम, तपाईं जतिको मान्छे आए हामीलाई सहज हुन्छ, हामीलाई राम्रो चालक चाहिन्छ,’ भन्नुभएको थियो। यसरी उहाँहरूको सम्पर्क र प्रस्तावबाट म सरकारी कार्यालयमा गाडी चलाउन पुगेको हुँ।
सरकारी चालकका रूपमा कहिलेदेखि काम सुरु गर्नुभयो ? त्यहाँ कति समय काम गर्नुभयो ?
जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटमा मेरो नियुक्ति २०७३ साल वैशाख १ गते भएको हो। त्यहाँ २०७८ साल साउनको अन्तिमतिरसम्म काम गरेँ।
सहचालक हुँदा बीचमै छुटेको पढाइ फेरि कसरी सुरु गर्नुभयो ? एसएलसी र कक्षा १२ सम्मको अध्ययनको क्रम कस्तो रह्यो ?
मैले २०७० सालमा फेरि कक्षा ९ मा भर्ना भएर पढाइ सुरु गरेको हो। त्यसपछि २०७१ सालमा एसएलसी दिएँ। एसएलसीपछि प्लस टु पढ्ने सोच त थियो, तर कहाँबाट पढ्ने, कसरी भर्ना हुने भन्ने कुरा मलाई राम्रोसँग थाहा थिएन।
२०७२ सालमा हाम्रो गाउँका एक जना दाइ हुनुहुन्थ्यो, उहाँ क्याम्पस प्रमुख पनि हुनुहुन्थ्यो। उहाँसँग कुरा भयो। त्यतिबेला भर्नाको समय लगभग सकिन लागेको रहेछ। राष्ट्रिय परीक्षा बोर्डको क्षेत्रीय कार्यालयसम्म पनि भर्नासम्बन्धी प्रक्रिया पुगिसकेको रहेछ। एउटा ठाउँमा भने अझै भर्ना बाँकी रहेछ। उहाँले ‘यहाँ भर्ना हुन सकिन्छ, यतै जाऊ न त’ भन्नुभयो। त्यसपछि त्यहाँ गएर फाराम भरेँ। मैले २०७२ सालदेखि २०७४ सालसम्म प्लस टु पढेको हुँ।
गाडी चलाउँदै पढाइलाई कसरी निरन्तरता दिनुभयो ? नियमित आम्दानी हुने चालकको जागिर छाडेर लोक सेवाको तयारीमा लाग्ने निर्णय कति कठिन थियो ? त्यो समयमा परिवार, विशेषगरी श्रीमतीको साथ कस्तो रह्यो ?
मैले जागिर छाडेर लोकसेवाको तयारीमा लाग्ने निर्णय गर्दा धेरै ठाउँबाट दबाब पनि आएको थियो। ‘नछोड्नु, सरकारी जागिर खाइरहेको मान्छे, चालक भए पनि तलब आइरहेको छ, घरपायक छ, नजिक छ, राम्रो छ, किन छोडेको होला ?’ भनेर धेरैले भन्नुभएको थियो। ‘अहिले छोडेपछि पछि थाहा पाउँछस्, नछोडेको भए हुन्थ्यो,’ भन्नेहरू पनि हुनुहुन्थ्यो। आफन्तहरूले पनि सम्झाउनुभयो। उहाँहरूले भनेको पनि आफ्नो ठाउँमा ठीकै थियो।
त्यतिबेला मेरी छोरी साढे दुई वर्षकी थिइन्। घर बनाएको थिएँ। घर बनाउँदा करिब १० लाख रुपैयाँ ऋण पनि लागेको थियो। मेरी श्रीमतीले पनि ‘अहिले यस्तो अवस्था छ, ऋण छ, जागिर नछोड्दा हुन्थ्यो कि ?’ भन्ने कुरा गर्नुभएको थियो।
तर, मैले ‘होइन, म गर्छु। ऋण भनेको जीवनमा भइरहन्छ। जसरी हुन्छ, म गर्छु,’ भनेर विश्वास दिलाएँ। त्यसपछि श्रीमतीले पनि साथ दिनुभयो। ‘तपाईंको इच्छा छ भने जसोतसो गरौँला,’ भन्नुभयो। त्यसरी उहाँको साथ पाएपछि मैले जागिर छाडेँ र तयारीमा लागेँ।
त्यसपछिको सरकारी सेवाको क्रम पनि अगाडि बढ्यो। बागमती प्रदेशमा सहायक पाँचौँ तहमा नाम निस्किएपछि म हेलम्बु गाउँपालिकामा गएको थिएँ। २०७९ साल फागुन १८ गते हेलम्बुबाट नियुक्ति लिएको थिएँ। त्यसपछि त्यही फागुनको २१ गतेतिर अर्को सिफारिसको प्रक्रिया पनि थियो। त्यसपछि उतातिर जाने अवस्था भयो र यताको जागिरबाट राजीनामा दिएर गएँ।
हिजो सर्वसाधारण नागरिक हुँदा सरकारी कर्मचारी, उनीहरूको व्यवहार र सेवा प्रवाहप्रति तपाईंको धारणा कस्तो थियो ? पछि सरकारी कार्यालयमा चालक भएर काम गर्दा त्यो धारणा कति बदलियो ? बाहिरबाट देखेको र भित्रबाट अनुभव गरेको प्रशासनमा के फरक पाउनुभयो ?
त्यतिबेला मैले सरकारी कार्यालय र कर्मचारीतन्त्रबारे धेरै अनुभव गर्न पाएको थिइनँ। सरकारी कार्यालयहरूसँग त्यति धेरै सम्पर्क पनि थिएन। म सानै थिएँ। सरकारी कार्यालय भनेको के हो, कुन कार्यालय कहाँ हुन्छ, कुन कार्यालयले के काम गर्छ भन्ने कुरा मलाई राम्रोसँग थाहा थिएन।
स्वास्थ्य कार्यालयमा काम गर्न थालेपछि बिस्तारै यी कुरा बुझ्दै गएको हो। त्यसअघि सरकारी कार्यालयहरूको बारेमा विस्तृत जानकारी थिएन। कुन कार्यालय कहाँ छ, कहाँबाट के काम हुन्छ भन्ने कुरा पनि धेरै थाहा थिएन।
नागरिकता वा सवारीचालक अनुमतिपत्र लिँदा त सरकारी कार्यालय जानुभयो होला नि। एउटा सामान्य सेवाग्राहीका रूपमा त्यतिबेला कस्तो अनुभव गर्नुभयो ? सजिलै सेवा पाउनुभयो कि कुनै दु:ख भोग्नुपर्यो ?
नागरिकता लिन गएको थिएँ। लाइसेन्स लिन पनि गएको थिएँ। तर, त्यतिबेला मलाई त्यस्तो विशेष अनुभूति भएन। कर्मचारीहरू कहाँबाट आउनुहुन्छ, कसरी काम गर्नुहुन्छ, त्यसबारे त्यति सोच्ने अवस्था पनि थिएन। मैले फर्म भरेँ, लाइसेन्सका लागि लिखित परीक्षा दिएँ, त्यसपछि ट्रायल दिएँ। पास भएँ र लाइसेन्स पाएँ।
त्यतिबेला सरकारी कार्यालयमा सेवा लिन जाँदा असाध्यै दु:ख पाएको वा कर्मचारीको व्यवहारबाट नराम्रो अनुभव भएको भन्ने छैन। मैले त्यस्तो महसुस गर्न पाइनँ।
सरकारी गाडी चलाएर कर्मचारीलाई कार्यालय पुर्याउँदा प्रशासनिक कामकाज र सेवाग्राहीका समस्या पनि नजिकबाट देख्नुभयो होला। कुनै त्यस्तो घटना सम्झनुहुन्छ, जसले तपाईंलाई ‘म अधिकृत भएँ भने यसरी काम गर्छु’ भन्ने सोच्न बाध्य बनायो ?
त्यस्तो चाहिँ कहिलेकाहीँ सोचिन्थ्यो। मैले सरकारी कार्यालयको गाडी पनि चलाएँ। कहिलेकाहीँ एम्बुलेन्स पनि चलाउनुपर्थ्यो। एम्बुलेन्स चलाउँदाका केही कुरा अहिले पनि याद आउँछन्।
हाम्रो जिल्लामा डाक्टरहरू उपलब्ध हुनुहुन्नथ्यो। अस्पतालमा डाक्टर नहुँदा मलाई किन यस्तो भएको होला भन्ने लाग्थ्यो। यहाँ जनप्रतिनिधि हुनुहुन्छ, संरचनाहरू छन्, तर चाहिएको समयमा डाक्टर उपलब्ध हुनुहुन्न। यस्तो किन भएको होला भन्ने लाग्थ्यो।
सानोसानो केस पनि सुर्खेत वा नेपालगञ्ज रेफर गर्नुपर्थ्यो। ती बिरामीलाई आफैँले एम्बुलेन्समा राखेर लैजान्थेँ। त्यतिबेला बिरामीले धेरै दु:ख पाएको देख्दा किन यस्तो भएको होला भन्ने लाग्थ्यो। कहिलेकाहीँ बिरामी पीडाले एकदमै छटपटाइरहेको हुन्थ्यो। त्यस्तो अवस्था देख्दा आफूलाई पनि साह्रै नराम्रो लाग्थ्यो। बिरामीको अवस्थाका कारण नचाहँदानचाहँदै पनि गाडी छिटो चलाउनुपर्ने बाध्यता हुन्थ्यो।
त्यस्तो बेला एकदमै खट्किन्थ्यो। कतै न कतै यो व्यवस्थापनको कमजोरी हो भन्ने लाग्थ्यो। हामी पनि कुनै दिन त्यो ठाउँमा पुग्यौँ भने यस्तो अवस्थालाई व्यवस्थापन गर्नुपर्छ भन्ने सोच आउँथ्यो। किनभने त्यहाँका जनताले धेरै दु:ख पाइरहेका थिए।
अब तपाईं आफैँ अधिकृतको भूमिकामा पुग्ने अवस्थामा हुनुहुन्छ। कार्यजिम्मेवारी सुरु भइसकेको त छैन। तर चाँडै जिम्मेवारी सम्हाल्न जाँदै गर्दा हिजो जे देख्नुभयो, त्यसलाई सुधारेर नागरिकलाई सहजता पुर्याउन सकिन्छ भन्ने सोच अहिले मनमा के छ ?
अब फरकफरक सेवाका आआफ्नै जिम्मेवारी हुन्छन्। मैले गर्न सक्ने काम नै गर्नुपर्छ। मेरो मनमा के छ भने आफ्नो कार्यक्षेत्र, अधिकार, जिम्मेवारी र दायित्वभित्र रहेर कसरी सेवा दिन सकिन्छ भन्ने हो।
कानुनको पालना गरेर, कानुनभन्दा बाहिर नगई जनतालाई छिटोछरितो, स्वच्छ र निष्पक्ष तरिकाले सेवा प्रवाह गर्न सकियोस् भन्ने मेरो सोच छ। आफ्नो अधिकार र जिम्मेवारीभित्र रहेर त्यहीअनुसार काम गर्नुपर्छ भन्ने लाग्छ।
सहचालक हुँदा ‘खलासी’ र चालक हुँदा ‘ड्राइभर’ भनेर हेपिएको अनुभव विभिन्न ठाउँमा सुनाउनुभएको छ। सरकारी कार्यालयभित्र पनि पदअनुसार मानिसलाई फरक व्यवहार गरिने अनुभव भयो ?
त्यतिबेला हाम्रो कार्यालयमा पनि कतिपय अवस्थामा त्यस्तो व्यवहार अनुभव भयो। मैले एसएलसी सकेर प्लस टु पनि पूरा गरिसकेको थिएँ। ब्याचलर पढ्दै थिएँ। कार्यालयमा विभिन्न किसिमका कर्मचारी र मानिसहरू आउनुहुन्थ्यो।
मेरो विचारमा कर्मचारी भनेपछि सबै कर्मचारी हुन्। सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ। तर, तैपनि कताकता ‘ड्राइभर त हो, यसलाई के थाहा हुन्छ र ? यसले हाम्रो भनेको काम गर्नुपर्छ,’ भन्ने किसिमको व्यवहार पनि भोगियो।
त्यस्ता कुराले पनि मलाई प्रेरणा दियो। म पनि अगाडि बढ्नुपर्छ, त्यो ठाउँमा पुग्नुपर्छ भन्ने लाग्यो। कसैलाई पनि उसको पद, काम, जिम्मेवारी वा दायित्वका आधारमा अपमान गर्नु हुँदैन भन्ने कुरा मैले त्यहीँबाट महसुस गरेँ। त्यो अनुभव पनि मेरो लागि प्रेरणा बन्यो।
अब आफैँ अधिकृत हुँदा चालक, कार्यालय सहयोगी, सहकर्मी र सेवाग्राहीप्रतिको व्यवहारमा कस्तो उदाहरण प्रस्तुत गर्न चाहनुहुन्छ ?
आफ्नो अधिकार क्षेत्रभित्र रहेर काम गर्नुपर्छ। उहाँहरूले आ-आफ्नो कार्यजिम्मेवारीअनुसार कसरी काम गर्नुहुन्छ भन्ने कुरालाई हेर्नुपर्छ। मेरो एउटा कुरा के छ भने म कामलाई पहिलो प्राथमिकता दिन्छु। मेरो सोच हिजो पनि त्यही थियो, आज पनि त्यही छ र भोलि पनि त्यही हुनेछ जस्तो लाग्छ।
पहिलो प्राथमिकता काम नै हुन्छ। जसले काम गर्छ, उसलाई उत्प्रेरित गर्नुपर्छ। संरक्षण गर्नुपर्ने ठाउँमा संरक्षण गर्नुपर्छ। अब भोलि कस्तो परिस्थिति आउँछ, त्यसअनुसार काम गर्नुपर्ने हुन्छ। अहिले नै सबै कुरा यस्तो गर्छु भनेर योजना बनाएको छैन। परिस्थितिअनुसार काम गर्छु।
हिजो कर्मचारीतन्त्रका राम्रा पक्ष पनि देख्नुभयो होला, कमजोरी पनि भोग्नुभयो होला। आज आफैँ अधिकृत बन्नुभएको छ। विगतमा देखेका वा भोगेका कमजोरी सुधार्ने सुरुवात आफैँबाट कसरी गर्नुहुन्छ ? एउटा शाखा अधिकृतले आफ्नो व्यवहार, कार्यकक्ष र निर्णयबाट के-के परिवर्तन ल्याउन सक्छ भन्ने मनमा लागेको छ ?
सुरुमा कर्मचारीतन्त्रका राम्रा पक्ष र कमजोरीकै कुरा गरौँ। कर्मचारीतन्त्रका राम्रा पक्ष पनि धेरै छन्। विगतमा कर्मचारीहरूले कठिन परिस्थितिमा पनि निरन्तर आफ्नो कार्यजिम्मेवारी निर्वाह गर्नुभएको छ। द्वन्द्वकालीन अवस्था त एकदमै गाह्रो थियो। त्यस्तो अवस्थामा पनि कर्मचारीहरूले निरन्तर काम गरेर सेवा प्रवाह गर्नुभएको थियो।
कतिपय ठाउँमा माथिल्लो तहका कर्मचारी पुग्न नसक्दा तल्लो तहका कर्मचारीले पनि सेवा प्रवाह गरेका थिए। यो कर्मचारीतन्त्रको एकदमै राम्रो पक्ष हो। नराम्रा पक्ष पनि केही होलान्। जहाँ राम्रा कुरा हुन्छन्, त्यहाँ केही कमजोरी पनि हुन्छन्। सबै ठाउँमा राम्रा पक्ष मात्रै हुन्छन् भन्ने हुँदैन।
तर तपाईं प्रशासनको तल्लो तहबाट काम गर्दै आउनुभएको व्यक्ति हुनुहुन्छ। कर्मचारीका समस्या देख्नुभएको छ, भोग्नुभएको छ र बुझ्नुभएको छ। तपाईंको तहबाटै सुधार गर्न सकिने कुरा पनि त होलान् नि ? आफ्नो व्यवहार, कार्यकक्ष र निर्णयबाट कसरी परिवर्तन ल्याउन सकिन्छ ?
मैले तल्लो तहमा काम गर्ने कर्मचारीले के सोच्छन्, कस्तो बेला के महसुस गर्छन् भन्ने कुरा आफैँले भोगेको छु। सम्भवत: मैले मात्रै चाहेर निजामती सेवा परिवर्तन हुने पनि होइन। एउटा कार्यालयमा मैले मात्रै चाहेर सबै कुरा मैले भनेजस्तो हुने पनि होइन।
मैले कति गर्न सक्छु र अरूसँग कसरी समन्वय गर्छु भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। कसरी समन्वयात्मक ढङ्गले काम गर्न सकिन्छ भन्ने कुराले फरक पार्छ जस्तो लाग्छ।
तल्लो तहका कर्मचारीले कुन बेला कसरी काम गर्छन्, कुन बेला उनीहरू निरुत्साहित भएका हुन्छन्, उनीहरूलाई कस्तो किसिमको सुविधा र वातावरण आवश्यक पर्छ भन्ने कुरा मैले आफैँ अनुभव गरेको छु। त्यसैले त्यो अनुभवका आधारमा तल्लो तहका कर्मचारीलाई कुन किसिमले सहज वातावरण बनाउन सकिन्छ, कसरी उत्प्रेरित गर्न सकिन्छ, कुन अवस्थामा कामका लागि प्रोत्साहित गर्न सकिन्छ भन्ने कुरालाई प्राथमिकता दिन्छु।
सहभागितामूलक निर्णय पद्धतिलाई पहिलो प्राथमिकता दिन्छु। आफ्नो जिम्मेवारीअनुसार कसरी राम्रो नतिजा निकाल्न सकिन्छ भन्ने कुरामा परिस्थितिअनुसार अगाडि बढ्छु।
हिजो तपाईं आफैँ अभाव, अपमान र असहज परिस्थितिबाट गुज्रिनुभयो। अब त्यस्तै परिस्थितिका नागरिक तपाईंको कार्यालय वा कार्यकक्षमा सेवा लिन आए भने उनीहरूले तपाईंको व्यवहारमा के फरक अनुभव गर्नेछन् ? नागरिकप्रति तपाईंको पहिलो प्रतिबद्धता के हुनेछ ?
मेरो पहिलो प्रतिबद्धता भनेको सकेसम्म नागरिकले गुनासो लिएर म कहाँ आउनै नपर्ने वातावरण बनाउने हो। म जुन क्षेत्रमा जिम्मेवारी पाउँछु, त्यहाँ सकेसम्म त्यस्तो वातावरण निर्माण गर्ने प्रयास गर्छु।
जुन तहबाट नागरिकले सेवा प्राप्त गर्नुपर्ने हो, त्यही तहबाट सेवा पाउनुपर्छ। जुन शाखाबाट सेवा प्राप्त गर्नुपर्ने हो, त्यही शाखाबाट सेवा पाउनुपर्छ। उहाँहरूले सेवा खोजेको बेला, कार्यालयमा उपस्थित भएको बेला सेवा पाउने वातावरण मिलाउन प्रयास गर्छु।
त्यति गर्दा पनि उहाँहरूको काम भएन र म कहाँ आउनुपर्ने अवस्था भयो भने उहाँहरूको कुरा बुझ्छु। उहाँहरूको समस्या के हो, किन काम भएन, के व्यवस्था छ भन्ने सबै कुरा बुझेर कानुनअनुसार समाधान खोज्छु। कानुनलाई हातमा लिएर होइन, कानुनमा भएको व्यवस्थाभित्र रहेर विकल्प तयार गर्छु। त्यसअनुसार समयमै सेवा प्रदान गर्ने प्रयास गर्छु।
तपाईंको अनुभवमा सेवा प्रवाह प्रभावकारी बनाउन सबैभन्दा पहिले के सुधार गर्नुपर्छ-कर्मचारीको व्यवहार, कार्यप्रक्रिया, नेतृत्व, प्रविधि वा अरू केही ? एउटा शाखा अधिकृतको अधिकारभित्र के गर्न सकिन्छ र के सुधारका लागि माथिल्लो तहको निर्णय आवश्यक पर्छ ?
मेरो विचारमा एउटा क्षेत्रलाई मात्रै सुधार गरेर सार्वजनिक सेवा प्रवाह प्रभावकारी हुन्छ जस्तो लाग्दैन। यसका लागि विभिन्न पक्षमा सुधार गर्नुपर्छ।
मुख्यत: तीन तहका सरकारको अधिकार स्पष्ट रूपमा विभाजन गर्नुपर्छ। त्यहाँबाट पनि सुधार गर्न सकिन्छ। त्यसपछि कर्मचारीको आचरणमा सुधार गर्नुपर्छ। त्यसबाट पनि सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिन्छ।
एकद्वार सेवा प्रणाली स्थापना गर्नुपर्छ। अहिले कतिपय सेवाहरू छरिएका छन्। कतिपय ठाउँमा दोहोरो प्रणाली पनि छ। त्यसलाई व्यवस्थित गर्नुपर्छ। वन स्टप सर्भिस सञ्चालन गर्नुपर्छ।
सूचना तथा सञ्चार प्रविधिमा आधारित सेवा प्रणाली बनाउनुपर्छ। तर, सबै ठाउँमा सूचना प्रविधिको प्रयोग सम्भव पनि छैन। काठमाडौँमा सूचना प्रविधिमा आधारित सेवा सञ्चालन गर्न सहज होला। तर, हुम्लामा गएर त्यही प्रणाली तत्काल सञ्चालन गर्न नसकिने अवस्था पनि हुन सक्छ। त्यहाँको परिस्थितिअनुसार कसरी सेवा प्रवाह गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ।
एउटा पक्षलाई मात्रै सुधारेर होइन, सबै पक्षलाई सँगसँगै सुधारेर सेवा प्रवाह प्रभावकारी बनाउन सकिन्छ भन्ने लाग्छ।
शाखा अधिकृतमा नाम निस्किएको थाहा पाउँदा सबैभन्दा पहिले कसलाई सम्झनुभयो ?
मैले सबैभन्दा पहिले मेरी श्रीमतीलाई सम्झिएँ। किनभने श्रीमतीको त्याग र तपस्या धेरै छ। म यहाँसम्म पुग्नुमा श्रीमतीको ठूलो हात छ भन्ने लाग्छ।
मैले विवाह गर्दा मसँग केही पनि थिएन। श्रीमतीलाई राख्ने घर थिएन। पकाएर खाने भात थिएन। लगाउने कपडा पनि राम्रोसँग थिएन। त्यस्तो बेलामा मेरो जीवनमा आउनुभएकी श्रीमतीले दिएको साथ र सहयोग धेरै ठूलो छ। त्यस्तो अवस्थादेखि आजसम्मको साथ सम्झिँदा यो दिन पनि श्रीमतीकै कारण आएको जस्तो लाग्छ।
बुवाको अनुपस्थिति, आमाको आशीर्वाद, श्रीमतीको साथ र अन्य सहयोगीहरूको योगदान सम्झिँदा कस्तो अनुभूति हुन्छ ?
बुवाको अनुपस्थिति त भयो। मैले बुवाबाट पाउने माया महसुस गर्न पाइनँ। बुवाबाट जति माया, साथ र मार्गदर्शन पाउनुपर्ने हो, त्यो मैले पाइनँ।
तर, म आफूलाई भाग्यमानी पनि ठान्छु। किनभने मैले धेरै शुभचिन्तक, साथी र सहयोगीहरू पाएँ। उहाँहरूबाट सधैँ सकारात्मक ऊर्जा पाएँ। कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुरामा उहाँहरूले सहयोग गर्नुभयो।
श्रीमती त छँदै हुनुहुन्छ। श्रीमतीको साथ र सहयोग धेरै ठूलो छ। आफन्त र साथीहरूले पनि हौसला दिनुभयो। ‘यसरी गर्न सकिन्छ, यसरी अगाडि बढ्न सकिन्छ, तैँले गर्न सक्छस्,’ भनेर मलाई विश्वास दिलाउनुभयो। उहाँहरूले मप्रति देखाएको विश्वास र सहयोगले पनि मलाई यहाँसम्म आइपुग्न मद्दत गर्यो।
अब पाँच वर्षपछि नागरिकले तपाईंलाई कस्तो कर्मचारीका रूपमा सम्झिऊन् भन्ने चाहनुहुन्छ ?
पाँच वर्षपछि मात्रै होइन, मैले जिम्मेवारी पाएपछि नै नागरिकले राम्रो रूपमा सम्झिन सकून् भन्ने चाहन्छु। नागरिकले मलाई मात्रै होइन, समग्र निजामती सेवालाई राम्रो रूपमा सम्झिनुपर्छ भन्ने लाग्छ।
हामीसँग सरकार छ, कर्मचारीतन्त्र छ र यसले नागरिकलाई राम्रोसँग सेवा प्रवाह गरिरहेको छ भन्ने अनुभूति नागरिकले गर्न सकून्। नागरिकले निजामती सेवालाई राम्रो रूपमा सम्झिन सकून् भन्ने मेरो चाहना हो।
अन्त्यमा, प्रशासन डटकममार्फत थप केही भन्न चाहनुहुन्छ ?
अहिले बाहिरबाट हेर्दा ‘निजामती कर्मचारी यस्तो छ, सरकारी कर्मचारी यस्तो छ’ भन्ने प्रवृत्ति पनि छ। त्यो प्रवृत्तिलाई परिवर्तन गर्न म मात्रै होइन, हामी सबै कर्मचारीले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ।
आफ्नो अधिकार र दायित्वभित्र रहेर नागरिकले पाउनुपर्ने सेवासुविधा छिटो, सरल, कम लागतमा र प्रभावकारी ढङ्गले उपलब्ध गराउन सक्नुपर्छ। त्यसरी सेवा प्रवाह गरेपछि मात्रै निजामती सेवाप्रति नागरिकको विश्वास बढाउन सकिन्छ जस्तो लाग्छ।
मलगायत सम्पूर्ण कर्मचारीले आफ्नो जिम्मेवारी समयमै र सक्षम तरिकाले निर्वाह गर्नुपर्छ भन्ने मेरो धारणा छ।





