काठमाडौँ । बायोग्यास प्लान्ट निर्माणका लागि आह्वान गरिएको ठेक्काका चारवटै प्याकेजमा एक-एक बोलपत्र परेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जनाएको छ । निश्चित कम्पनीलाई अनुकूल हुने गरी ठेक्काका सर्त र योग्यता तोकिएको आरोपलाई केन्द्रले अस्वीकार गरेको छ ।
केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले प्रशासन डटकमसँग कुरा गर्दै दसैँअघि खुला रूपमा बोलपत्र आह्वान गरिएको र प्रस्ताव पेस गर्न २१ दिनभन्दा बढी समय दिइएको बताए । केन्द्रले कुनै कम्पनीलाई बोलपत्र पेस गर्न वा नगर्न निर्देशन नदिएको र प्रस्ताव बुझाउन कसैलाई अवरोध नगरेको उनको भनाइ छ ।
‘एउटा–एउटा प्याकेजमा आवेदन परेकाले मिलेमतो भएको हो कि भन्ने आशङ्का गरिएको हो,’ ढकालले भने, ‘कार्यालयले खुला, निष्पक्ष र पारदर्शी रूपमा बोलपत्र आह्वान गरेको हो ।’
ढकालका अनुसार तराईका २२ जिल्लामा सञ्चालन हुने कार्यक्रमलाई यसअघि नै चार भौगोलिक समूहमा बाँडिएको थियो । अघिल्ला दुई वर्षमा एक-एक प्याकेजमार्फत काम गर्दा ढिलाइ भएको अनुभवका आधारमा यसपटक प्रत्येक समूहका लागि छुट्टाछुट्टै प्याकेज बनाइएको उनले बताए । प्लान्ट निर्माणको प्राविधिक विनिर्देश अघिल्ला वर्षकै कायम रहेको उनको भनाइ छ ।
कागजी बोलपत्र बुझाउनुपर्ने भएकाले प्रस्ताव पेस गर्ने दिन कुनै अवरोध नहोस् भनेर सुरक्षा निकायसँग समन्वय गरिएको पनि ढकालले बताए ।
मन्त्रालय स्रोतका अनुसार, बायोग्यास प्लान्ट निर्माणका लागि छुट्याइएका प्याकेजको ठेक्का प्रक्रियाबारे उठेको गुनासो मन्त्रालयसम्म पुगेको छ । स्रोतले गुनासोमा उठाइएका विषयमाथि छानबिन हुनुपर्ने बतायो ।





