काठमाडौँ । काठमाडौँ महानगरपालिका-२६ ज्याठास्थित गोल्डेन आई डान्स बारका सञ्चालक र कर्मचारीलाई सादा पोसाकका प्रहरी भएको दाबी गर्दै धम्की दिएको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रेको महाभारत गाउँपालिका-८ घर भई भक्तपुरमा बस्ने २२ वर्षीय नवराज कुवँर र १८ वर्षीय सुमन तामाङ छन्। प्रहरीका अनुसार उनीहरू मंसिर ४ गते मध्यरातपछि करिब साढे १२ बजे बारभित्र पसेका थिए। त्यहाँ सञ्चालक र कर्मचारीसँग विवाद गर्दै धम्की दिएको आरोपमा प्रहरी वृत्त दरबारमार्गको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट तीन दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





