काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले रसुवा-भोटेकोशी बाढीबाट प्रभावित पाँच जिल्लाका विद्यार्थीलाई अध्ययन शुल्कमा छुट दिने निर्णय गरेको छ। विश्वविद्यालयले बाढीका कारण विस्थापित विद्यार्थीको शैक्षिक निरन्तरताका लागि आर्थिक वर्ष २०८३/८४ देखि २०८७/८८ सम्म उक्त सुविधा उपलब्ध गराउने भएको हो।
विश्वविद्यालयका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढी प्रभावित विद्यार्थीले शुल्क छुट पाउनेछन्। हाल वार्षिक वा सेमेस्टर प्रणालीमा अध्ययन गरिरहेका तथा आगामी शैक्षिक सत्रमा भर्नाका लागि योग्यता पुगेका विद्यार्थीलाई यो व्यवस्था लागू हुनेछ।
सुविधा प्राप्त गर्न विद्यार्थीले बाढीबाट प्रभावित भएको पुष्टि हुने सम्बन्धित स्थानीय तहको सिफारिस पेस गर्नुपर्नेछ। विश्वविद्यालयले शुल्क छुटसम्बन्धी निर्णय कार्यान्वयन गर्न मातहतका सम्पूर्ण क्याम्पस, केन्द्रीय विभाग तथा केन्द्रहरूलाई निर्देशन दिएको छ।
त्रिविले फाराम नम्बर १ मा समावेश गरिएका १६ शीर्षकका शुल्कमा छुट दिने जनाएको छ। ती शीर्षकमा क्याम्पस प्रवेश, विश्वविद्यालय दर्ता, शिक्षण, परिचयपत्र, खेलकुद, प्रयोगशाला, पुस्तकालय, परीक्षा, छात्रावास, जरिबाना, शोधपत्र र विविध शुल्क समावेश छन्।
त्यस्तै, पुस्तकालय धरौटी, छात्रावास धरौटी, प्रयोगशाला धरौटी तथा विविध विद्यार्थी धरौटीसम्बन्धी शुल्क पनि उक्त फाराममा उल्लेख छन्।
यद्यपि, विश्वविद्यालयले आफ्नो निर्णयमा धरौटी, परीक्षा शुल्क र त्रिवि रजिस्ट्रेसन शुल्कबाहेकका शुल्क मिनाहा हुने उल्लेख गरेको छ।
त्रिविका अनुसार शुल्क छुटको व्यवस्था तोकिएका पाँच आर्थिक वर्षका लागि मात्र लागू हुनेछ। यस अवधिमा निर्धारित शैक्षिक सत्रमा अध्ययनरत तथा भर्नाका लागि योग्य बाढी प्रभावित विद्यार्थीले स्थानीय तहको सिफारिसका आधारमा सुविधा प्राप्त गर्न सक्नेछन्।





