काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसँगै स्थानीय तहका थुप्रै जनप्रतिनिधिहरूले पदबाट राजीनामा दिँदै उम्मेदवारी दर्ता गराउन थालेका छन् ।
महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरू प्रतिनिधि सभा सदस्यका रूपमा उम्मेदवारी दर्ता गराइरहेका छन् । यसक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा निर्वाचन क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराएका छन् ।
दमक नगरपालिका-८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर साहले मनोनयन दर्ता गराएका हुन् । विसं २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरको प्रमुख निर्वाचित भएका साहले अहिले प्रधानमन्त्री बन्ने आकांक्षासहित सक्रिय राजनीतिमा प्रवेश गरेका छन् । सोही निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पनि उम्मेदवार रहेकाले उक्त क्षेत्रलाई चासोका साथ हेरिएको छ ।
त्यसैगरी भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पनि पदबाट राजीनामा दिँदै चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएकी छिन् । दुई कार्यकालसम्म भरतपुर महानगरको नेतृत्व गरिसकेकी दाहाललाई नेकपा (नेकपा) ले प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको हो ।
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पनि पदबाट राजीनामा दिँदै सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएका छन् । विसं २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका साम्पाङ श्रम संस्कृति पार्टीका अध्यक्षसमेत हुन् । उनीसँगै धरान उपमहानगरपालिका-१७ का वडाध्यक्ष मनोज भट्टराईले पनि पदबाट राजीनामा दिँदै उम्मेदवारी दिएका छन् । विसं २०७४ र २०७९ मा लगातार दुई पटक वडाध्यक्ष निर्वाचित भएका भट्टराई नेकपा (नेकपा) बाट उम्मेदवार बनेका हुन् ।
गाउँपालिका अध्यक्षहरू पनि उम्मेदवार
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले दोस्रो कार्यकाल पूरा नगर्दै स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएका छन् । उनलाई नेकपा (एमाले) ले उम्मेदवार बनाएको हो ।
त्यस्तै ओखलढुङ्गाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाले पनि प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएकी छिन् । उनी एमालेबाट उम्मेदवार बनेकी हुन् ।
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका प्रमुख असिम राईले पनि पदबाट राजीनामा दिँदै नेकपा (नेकपा) का तर्फबाट सोलुखुम्बु प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएका छन् ।
वडाध्यक्ष र वडा सदस्यहरू पनि प्रतिस्पर्धामा
स्थानीय तहका प्रमुख मात्र होइन, वडाध्यक्ष र वडा सदस्यहरू पनि प्रतिनिधि सभा निर्वाचनमा सहभागी भएका छन् । वीरगञ्ज महानगरपालिका-१० का वडाध्यक्ष सुशील साह कानु र वडा नम्बर २० का वडाध्यक्ष रामकिशोर (पराग) सिंह प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन् । कानु राष्ट्रिय स्वतन्त्र पार्टीबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका छन् भने सिंह उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका हुन् ।
देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसँगै स्थानीय तहमा छोटो समय नेतृत्व सम्हालेका जनप्रतिनिधिहरू संघीय संसद्मार्फत सिधै सिंहदरवार पुग्ने लक्ष्यसहित प्रतिनिधि सभा निर्वाचनमा होमिएका छन् । यसले आगामी निर्वाचनलाई अझ प्रतिस्पर्धात्मक र चासोपूर्ण बनाउने देखिएको छ ।







