काठमाडौँ । नरैनापुर गाउँपालिका बाँकेको नवनिर्मित प्रशासकीय भवन विधिवत् रूपमा उद्घाटन भएको छ। गाउँपालिकाका अध्यक्ष ईस्तियाक शाहले आज आयोजित एक कार्यक्रमबीच नयाँ भवनको उद्घाटन गरेका हुन्।
यसअघि साविक नरैनापुर गाउँ विकास समितिको भवन (हाल वडा नम्बर ४ कार्यालय) बाट सेवा प्रदान हुँदै आएकोमा, अबदेखि सम्पूर्ण सेवा प्रवाह सम्बन्धी काम नयाँ भवनबाट सञ्चालन गरिनेछ। उद्घाटन कार्यक्रममा अध्यक्ष शाहले नयाँ भवनसँगै कार्यशैली र व्यवहारमा पनि नवीनता ल्याउँदै सेवा प्रवाहमा गुणस्तर कायम गर्नुपर्नेमा जोड दिए।
वि.स. २०७७ साल भदौ १२ गते गाउँपालिका र महालक्ष्मी जुगल जेभीबीच भवन निर्माण सम्झौता भएको थियो। निर्माण प्रक्रिया क्रममा छैटौँ पटक ठेक्का म्याद थप गरी कार्य स्वीकार्य भएको थियो। लिफ्टसहितको सुविधा सम्पन्न यो भवन सबै सेवा–ग्राही मैत्री रहेको प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले जानकारी दिए।
प्रमुख प्रशासकीय अधिकृत वलीले भवन निर्माण क्रममा देखिएका समस्याहरू र तिनको समाधानका प्रयासबारे चर्चा गर्दै, नयाँ भवनले नरैनापुरको विकास र सेवा प्रवाहमा गुणात्मक तथा परिमाणात्मक सुधार ल्याउने अपेक्षा व्यक्त गरे। उनले नयाँ भवनलाई अझ सेवाग्राही मैत्री र स्रोत सम्पन्न बनाउँदै लैजान प्रतिबद्धता व्यक्त गरे।








