सर्लाही। मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले सर्लाहीको मलंगवा नगरपालिका-१०, देवीटोलमा घटित सब-इन्जिनियर प्रमोद कुमार यादव हत्या प्रकरणलाई गम्भीरतापूर्वक लिन निर्देशन दिएका छन्।
मलंगवा-१० स्थित पूर्वाधार विकास कार्यालय, सर्लाहीमा कार्यरत यादवको हत्या भएको स्थानमा सोमबार पुगेर मन्त्री महतोले स्थलगत निरीक्षण गर्नुका साथै शोकाकुल परिवारजनसँग भेट गरी समवेदना व्यक्त गरेका हुन्।
घटनापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले अनुसन्धानमा कुनै ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पारे। सर्लाहीका प्रहरी प्रमुखमाथि जनस्तरबाट उठिरहेका प्रश्नहरूको सन्दर्भ उल्लेख गर्दै उनले “चुस्त, तथ्यपरक र परिणाममुखी अनुसन्धान” गर्न निर्देशन दिएको जानकारी दिए।
मन्त्री महतोले टेलिफोन संवादमार्फत सुरक्षा निकायलाई सम्पूर्ण संयन्त्र परिचालन गर्न निर्देशन दिइएको जनाउँदै भने, “सम्पूर्ण शक्ति परिचालन गरेर अधिकतम एक साताभित्र जहाँ भए पनि अपराधीलाई पक्राउ गर्न निर्देशन दिएको छु। सत्यतथ्य छानबिन गरी कानुनबमोजिम दोषीलाई कडा कारबाही गरिनेछ।”
उनले उक्त घटनालाई राज्यको सुरक्षा प्रणालीसम्बन्धी गम्भीर चुनौतीका रूपमा उल्लेख गर्दै प्रदेश सरकार अनुसन्धान प्रक्रियाप्रति सजग र प्रतिबद्ध रहेको बताए।
मन्त्री महतोले शव राखिएको प्रादेशिक अस्पताल, मलंगवामा पुगेर पनि अवस्थाबारे जानकारी लिएका थिए।
सुरक्षा व्यवस्थामाथि प्रश्न
यस घटनापछि जिल्लाको समग्र सुरक्षा व्यवस्थामाथि पुनः प्रश्न उठेको छ। सीमावर्ती क्षेत्रको सुरक्षा, प्रहरी गस्तीको प्रभावकारिता तथा अपराध नियन्त्रण क्षमताबारे सार्वजनिक बहस तीव्र बन्दै गएको छ। स्थानीय तहमा समेत परिणाममुखी अनुसन्धानको माग बढिरहेको देखिन्छ।
गत फागुन ३ गते आइतबार साँझ करिब ८ बजे अज्ञात समूहले डेराबाट बाहिर बोलाएर गोली प्रहार गर्दा सब-इन्जिनियर प्रमोद कुमार यादवको मृत्यु भएको थियो। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।







