काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचनको तयारी तथा समग्र शान्ति–सुरक्षा अवस्थाबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्यालसहित उच्च अधिकारीहरूको टोलीले ललितपुरका विभिन्न क्षेत्रका मतदान स्थलहरूको अनुगमन तथा निरीक्षण गरेको छ ।

निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिन टोलीले आज ललितपुरका बुंगमती, गोटिखेल, लेले लगायतका मतदान केन्द्रहरूको स्थलगत अनुगमन गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालय स्रोतका अनुसार निर्वाचन सुरक्षाको अवस्था मूल्याङ्कन गर्दै समग्र निर्वाचन वातावरणलाई ध्यानमा राखी सम्बन्धित सुरक्षा निकाय तथा मतदान केन्द्रहरूको निरीक्षण गरी आवश्यक निर्देशन दिइएको छ ।

यसअघि आइतबार गृहमन्त्री ओमप्रकाश अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायतको टोलीले बाँकेको नेपालगन्ज हुँदै अछाम, बझाङ, बाजुरा र कैलालीको धनगढी पुगेर निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे स्थलगत निरीक्षण तथा अनुगमन गरेको थियो।










