काठमाडौँ। परराष्ट्र मन्त्री बालानन्द शर्माले कुवेतका परराष्ट्र मन्त्री शेख जर्राह जाबेर अल-अहमद अल-सबाहसँग सोमबार साँझ टेलिफोन मार्फत छलफल गरेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार वार्तामा पश्चिम एसिया क्षेत्रमा उत्पन्न पछिल्ला परिस्थितिबारे द्विपक्षीय संवाद भएको हो।
यस क्रममा मन्त्री शर्मा कुवेत सरकारले नेपाली समुदायको सुरक्षा सुनिश्चित गर्न गरेको प्रयासको सराहना गरेका थिए। कुवेती समकक्षी अल-सबाहले जारी क्षेत्रीय युद्धले अन्तर्राष्ट्रिय मानवअधिकार र संयुक्त राष्ट्रसंघको मानवीय कानुन उल्लंघन गरेको बताएका छन्।
उनले कुवेतमा रहेका नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न आफ्नो सरकार प्रतिबद्ध रहेको दोहोर्याए र क्षेत्रीय तनाव शान्तिपूर्ण माध्यमबाट समाधान हुने आशा व्यक्त गरे।
दुवै पक्षले टेलिफोन संवादमा संयमता अपनाउने, संवाद र कूटनीतिक पहललाई प्राथमिकता दिने आवश्यकतामा जोड दिएका छन्।







