काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल–भारत सम्बन्ध, संसदीय सहकार्य तथा द्विपक्षीय साझेदारीका विभिन्न विषयमा छलफल भएको हो।
भेटमा सभामुख अर्यालले जनादेश प्राप्त सरकारको कार्यसम्पादनको प्रारम्भिक चरण पूरा भएको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनका क्रममा भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गरे।
उनले नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, सामाजिक तथा भौगोलिक आधारमा विकसित भएको उल्लेख गर्दै व्यापार, सुरक्षा, नागरिक उड्डयन, जलस्रोत र पूर्वाधार सम्पर्क विस्तारजस्ता क्षेत्रमा स्थापित द्विपक्षीय संयन्त्रले सम्बन्धलाई थप व्यवस्थित बनाउँदै लगेको बताए।
उच्चस्तरीय भ्रमण तथा संवादको निरन्तरताले दुई मुलुकबीचको सहकार्यलाई थप मजबुत बनाएको उल्लेख गर्दै सभामुख अर्यालले यातायात तथा सम्पर्क सञ्जाल विस्तारमा विशेष ध्यान दिनुपर्ने धारणा राखे। उनले हवाई सेवा, रेल तथा बस सञ्जाल विस्तारले जनस्तरको सम्बन्ध र आर्थिक गतिविधिलाई थप गति दिने विश्वास व्यक्त गरे।
सभामुख अर्यालले भारतको लोकसभा सभामुख ओम बिरलालाई नेपाल भ्रमणका लागि आमन्त्रण गरिएको जानकारी दिँदै उपयुक्त समयमा नेपालमा स्वागत गर्न आफूहरू इच्छुक रहेको बताए। उनले भारतको संसद्ले लोकतान्त्रिक अभ्यास र संस्थागत विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै त्यसलाई सम्मानका साथ हेरिएको उल्लेख गरे।
भेटका क्रममा सभामुख अर्यालले नयाँ प्रतिनिधि सभा गठनपछि विपिन आचार्यको नेतृत्वमा १० सदस्यीय नेपाल–भारत संसदीय मैत्री समूह गठन गरिएको जानकारी दिए। उक्त समूहले दुई देशका संसद् र सांसदबीच सहकार्य, अनुभव आदानप्रदान तथा सम्बन्ध विस्तारमा योगदान पुर्याउने अपेक्षा व्यक्त गरे।
उनले संसदीय कूटनीतिले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग गर्ने बताउँदै सांसदहरूबीच आपसी समझदारी, नीति अनुभव आदानप्रदान र साझा प्राथमिकताका विषयमा सहकार्य बढाउन यसको भूमिका महत्वपूर्ण हुने धारणा राखे।
सभामुख अर्यालले भारतले संसदीय कामकारबाहीलाई प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन प्रयोग गरेका डिजिटल अभ्यासको प्रशंसा गरे। उनले भारतको कागजरहित संसदीय प्रणाली, डिजिटल व्यवस्थापन तथा ‘नेसनल ई–विधान एप्लिकेसन’ जस्ता पहलबाट नेपालले समेत अनुभव लिन सक्ने बताए।
नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको उल्लेख गर्दै सभामुख अर्यालले नेपालको विकास यात्रामा भारतको सहयोग र सद्भाव महत्वपूर्ण रहेको बताए। उनले दुवै मुलुकले आपसी सहकार्य र साझेदारीका माध्यमबाट शान्ति, समृद्धि र विकासका साझा लक्ष्य हासिल गर्न निरन्तर काम गर्ने विश्वास व्यक्त गरे।
भेटमा भारतीय राजदूत श्रीवास्तवले भारतको लोकसभा सभामुख ओम बिरला नेपाल भ्रमणका लागि सकारात्मक रहेको जानकारी गराए। उनले नेपाली सभामुख तथा सांसदहरूलाई भारत भ्रमण गरी त्यहाँको संसदीय अभ्यास अवलोकन गर्न निमन्त्रणा समेत दिए।
राजदूत श्रीवास्तवले संसदीय कूटनीति र नियमित राजनीतिक संवादले नेपाल-भारत सम्बन्धलाई अझ प्रभावकारी बनाउने धारणा राख्दै व्यापार, सम्पर्क सञ्जाल, ऊर्जा, शिक्षा तथा जनस्तरको सम्बन्ध विस्तारका क्षेत्रमा भारत सहकार्य गर्न प्रतिबद्ध रहेको बताए।







