काठमाडौँ। दाइजो प्रथा अन्त्यका लागि देशव्यापी जनचेतनामूलक अभियान सञ्चालन गर्ने विषयमा महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीबीच छलफल भएको छ।
मन्त्रालयमा भएको भेटवार्तामा दाइजो प्रथाविरुद्धको अभियान मधेश प्रदेशबाट सुरु गरी क्रमशः देशभर विस्तार गर्ने विषयमा छलफल भएको हो। अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, शैक्षिक संस्था, समुदाय, सामाजिक तथा धार्मिक अगुवा, युवा, महिला समूह र नागरिक समाजलाई सहभागी गराउने विषयमा समेत विचार विमर्श भएको जनाइएको छ।
छलफलका क्रममा दाइजो प्रथा महिला हिंसा, लैंगीक असमानता र सामाजिक विभेदसँग जोडिएको समस्या भएकाले यसको नियन्त्रणका लागि कानुनी व्यवस्था कार्यान्वयनसँगै व्यापक सामाजिक जागरण आवश्यक रहेकोमा जोड दिइएको छ।
मन्त्री सिता बादीले दाइजो प्रथाको अन्त्य कानुनी प्रयासले मात्र सम्भव नहुने भन्दै सामाजिक सोच र व्यवहारमा परिवर्तन ल्याउने अभियान आवश्यक रहेको बताइन्। उनले राज्यका निकाय, स्थानीय तह, शैक्षिक संस्था, सञ्चारमाध्यम, नागरिक समाज र समुदायबीच सहकार्यबाट मात्रै दिगो सुधार सम्भव हुने धारणा व्यक्त गरिन्।
उनले कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले जनचेतनामूलक कार्यक्रमलाई सँगसँगै अघि बढाउनुपर्ने बताइन्।
उपसभामुख रुबी कुमारीले मधेश प्रदेशबाट सुरु गरिने अभियानले दाइजोविरुद्ध राष्ट्रियस्तरमा प्रभावकारी सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिन्। उनले दाइजोमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको बताइन्।







