काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच कृषि क्षेत्रको साझेदारी विस्तार, लगानी अभिवृद्धि तथा आधुनिक प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने विषयमा छलफल भएको छ।
बिहीबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय कृषि सहकार्यलाई थप प्रभावकारी बनाउने, जापानी लगानी आकर्षित गर्ने, प्रविधि हस्तान्तरण र कृषि अनुसन्धानमा सहकार्य विस्तार गर्ने विषयमा विचार आदान-प्रदान भएको कृषि मन्त्रालयले जनाएको छ।
भेटका क्रममा मन्त्री चौधरीले नेपाल र जापानबीच सन् १९५६ देखि कायम कूटनीतिक सम्बन्ध तथा यस वर्ष मनाइँदै आएको ७०औँ वार्षिकोत्सवले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाएको उल्लेख गरिन्। उनले गत फेब्रुअरीमा राष्ट्रपतिको जापान भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ आयाम दिएको भन्दै जापान सरकारप्रति आभार व्यक्त गरिन्।
मन्त्री चौधरीले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापानले विगतदेखि पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै विशेषगरी बागवानी, तरकारी तथा फलफूलको मूल्य शृङ्खला विकासमा प्राप्त सहयोग महत्वपूर्ण रहेको बताइन्। गण्डकी प्रदेशमा सञ्चालन भइरहेको गण्डकी एसएचईपी परियोजना र कोशी प्रदेशको बीउबिजन सुधारसम्बन्धी प्राविधिक सहयोग कार्यक्रमबाट कृषि प्रणालीमा सकारात्मक प्रभाव परेको उल्लेख गर्दै उनले जापान सरकार तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) प्रति धन्यवाद व्यक्त गरिन्।
उनले नेपालमा क्षेत्रीय कृषि बजारको विकास, आधुनिक दुग्ध प्रशोधन उद्योग स्थापना, तरकारी तथा विभिन्न बालीका बीउबिजन उत्पादन, जैविक विषादी तथा मिश्रित रासायनिक मल उत्पादनका क्षेत्रमा जापानी लगानी र प्रविधि आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि जापानको सहयोग अपेक्षित रहेको बताइन्।
भेटवार्तामा कृषि अनुसन्धान, कृषि अध्ययनरत युवाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम सञ्चालन, धान खेतीको यान्त्रीकीकरण तथा ‘प्रिसिजन फार्मिङ’ लगायत आधुनिक कृषि प्रविधिमा दुई देशबीच सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।
मन्त्री चौधरीले जापानमा तीन लाखभन्दा बढी नेपालीको उपस्थितिले जनस्तरको सम्बन्ध थप सुदृढ बनेको उल्लेख गर्दै राजदूत मायदा तोरुको कार्यकालमा कृषि, व्यापार, लगानी तथा आर्थिक साझेदारीका क्षेत्रमा नेपाल-जापान सहकार्य अझ विस्तार हुने विश्वास व्यक्त गरिन्।







