संगठन तथा व्यवस्थापन सर्वेक्षण कार्यान्वयन सुरु गर्दै भूमि व्यवस्था मन्त्रालयले आफ्नो तथा मातहतका तीन निकायका २८३ पद राष्ट्रिय कितावखानामा दर्ता गराएको छ।
काठमाडौँ । मन्त्रिपरिषदबाट स्वीकृत संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण कार्यान्वयनको प्रक्रिया सुरु भएको छ। पहिलो चरणमा
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो तथा मातहतका निकायको संगठन संरचना तथा दरबन्दी राष्ट्रिय कितावखानामा दर्ता गराएको छ।
राष्ट्रिय कितावखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार मन्त्रालयबाट प्राप्त विवरण ‘फास्ट ट्र्याक’मार्फत दर्ता गरिसकिएको छ। उनका अनुसार मन्त्रालय, सहकारी रजिस्ट्रारको कार्यालय तथा राष्ट्रिय कितावखानासहित कुल २८३ पद दर्ता भइसकेका छन्।
पोखरेलका अनुसार नयाँ संगठन संरचनाअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा १४० दरबन्दी कायम गरिएको छ। यसमा एक सचिव, प्रशासन सेवातर्फ चार, न्याय सेवातर्फ एक र इन्जिनियरिङ सेवातर्फ एक गरी छ सहसचिव रहने व्यवस्था गरिएको छ। यसअघि सम्बन्धित मन्त्रालयहरूमा गरी २२५ दरबन्दी रहेको थियो।
त्यसैगरी, सहकारी विभाग र सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रलाई एकीकृत गरी स्थापना गरिएको सहकारी रजिस्ट्रारको कार्यालयमा एक रजिस्ट्रार (सहसचिव) सहित ३७ दरबन्दी स्वीकृत गरिएको पोखरेलले जानकारी दिए। यसअघि ती दुई निकायमा गरी ५५ दरबन्दी कायम थियो।
महानिर्देशक पोखरेलका अनुसार राष्ट्रिय कितावखानाको संरचनामा पनि उल्लेखनीय परिवर्तन गरिएको छ। नयाँ व्यवस्थाअनुसार महानिर्देशकका रूपमा एक सहसचिवको दरबन्दी मात्र कायम राखिएको छ भने यसअघि रहेका प्रशासन सेवाका दुई र शिक्षा सेवाका एक गरी तीन सहसचिवको दरबन्दी हटाइएको छ।
यस्तै, हालसम्म छुट्टाछुट्टै सञ्चालन हुँदै आएका शिक्षक कितावखाना र प्रहरी कितावखानालाई अलग निकायका रूपमा नराखी राष्ट्रिय कितावखानाको शाखाका रूपमा समायोजन गरिएको उनले बताए।
पोखरेलका अनुसार यस पुनर्संरचनापछि निजामती, शिक्षक र प्रहरीसम्बन्धी अभिलेख व्यवस्थापन एउटै प्रशासनिक संरचनाअन्तर्गत सञ्चालन हुनेछ। पुनर्संरचनासँगै यी तीन निकायका १३८ दरबन्दी घटेर १०६ मा कायम भएका छन्।






