अनशनरत नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै वीर अस्पतालका नर्सहरूले १५ बुँदे माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्। उनीहरूले न्यूनतम पारिश्रमिक, सेवा–सुविधा र श्रम शोषण अन्त्यको माग दोहोर्याएका छन्।
काठमाडौँ । वीर अस्पतालका नर्सहरूले नर्स तथा मिडवाइफहरूको १५ बुँदे माग तत्काल कार्यान्वयन गर्न र आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाटको जीवनरक्षाका लागि पहल गर्न माग गर्दै अस्पताल परिसरमा प्रदर्शन गरेका छन्।
प्रदर्शनका क्रममा उनीहरूले ‘१५ बुँदे माग तुरुन्त पूरा गर’, ‘नर्स ज्योति रानाभाटको जीवन रक्षा गर’, ‘न्यूनतम पारिश्रमिक ग्यारेन्टी गर’ तथा ‘विभेदकारी कानुनी व्यवस्था संशोधन गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
न्यूनतम पारिश्रमिक, श्रम शोषण अन्त्य तथा सेवा–सुविधासम्बन्धी १५ बुँदे माग राख्दै १४ साउनदेखि आमरण अनशनमा बसेकी रानाभाटको अनशन मंगलबार पाँचौँ दिन पुगेको छ।
उनी वीर अस्पतालमै उपचाररत छिन्। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको रक्तचाप र रगतमा चिनीको मात्रा लगातार घट्दै गएको छ। चिकित्सकहरूले उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राख्न सुझाव दिए पनि उनले स्वीकार नगरेकी बताइएको छ। साथै, उनले औषधिसमेत लिन अस्वीकार गरेको बताइएको छ ।
रानाभाटले स्वास्थ्य, शिक्षा, श्रम तथा अर्थ मन्त्रालयका प्रतिनिधि सहभागी हुने वार्ताको माग गर्दै आएकी छन्। स्वास्थ्य मन्त्रालयले गठन गरेको वार्ता टोलीसँग छलफल भए पनि ठोस कार्ययोजना प्रस्तुत नभएको भन्दै उक्त वार्ता निष्कर्षविहीन बनेको जनाइएको छ।
नर्सिङ संघको पनि सरकारलाई आग्रह
यसअघि नेपाल नर्सिङ संघले पनि सरकारले विगतमा भएका सहमति तत्काल कार्यान्वयन गर्न तथा अनशनरत रानाभाटको जीवनरक्षाका लागि आवश्यक पहल गर्न सरकारसँग आग्रह गरेको थियो।
संघले नर्सहरूको सेवा–सुविधा, तलब–भत्ता तथा कार्य वातावरणमा सुधार नगरे गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न कठिन हुने चेतावनी दिएको छ।
के छन् प्रमुख माग ?
रानाभाटले सरकारी र निजी अस्पतालमा कार्यरत नर्स तथा मिडवाइफका लागि सरकारले तोकेकोभन्दा कम नहुने न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न, सम्मानजनक सेवा–सर्त लागू गर्न, पर्याप्त दरबन्दी व्यवस्था गर्न, श्रम शोषण अन्त्य गर्न, जोखिम भत्ता उपलब्ध गराउन, सार्वजनिक बिदाको व्यवस्था गर्न तथा विभेदकारी कानुनी प्रावधान संशोधनसहितका १५ बुँदे माग तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखेकी छन्।








