परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनअन्तर्गत दर्ता भएको मुद्दामा प्रहरीले पक्राउ गरेको छ। उनीमाथि तिब्बती शरणार्थीलाई गैरकानुनी रूपमा यात्रा अनुमति पत्र जारी गरी मानव तस्करीको सञ्जाललाई सहयोग गरेको आरोप छ।
काठमाडौँ । । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार दिउँसो उनलाई नियन्त्रणमा लिएको हो।
सीआईबी स्रोतका अनुसार भट्टराईविरुद्ध राहदानी ऐनअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेपछि पक्राउ गरिएको हो।
मानव तस्करीसँग जोडिएको आरोप
अनुसन्धानका क्रममा भट्टराई शाखा अधिकृतका रूपमा कार्यरत रहँदा तिब्बती शरणार्थीलाई गैरकानुनी रूपमा यात्रा अनुमति पत्र उपलब्ध गराई मानव तस्करीको सञ्जाललाई सहयोग गरेको आरोप लगाइएको छ।
ती अधिकारीका अनुसार उक्त प्रकरणमा भारतीय शरणार्थी शिविरमा रहेका तिब्बती शरणार्थीका नाममा फर्जी कागजात प्रयोग गरी यात्रा अनुमति पत्र जारी गरिएको आरोप छ।
नेपालमा रहेका शरणार्थीले विदेश भ्रमणका लागि गृह मन्त्रालयको सिफारिससहित निवेदन दिएपछि मात्र यात्रा अनुमति पत्र जारी गर्न सकिने कानुनी व्यवस्था रहेको छ। तर, अनुसन्धानबाट भट्टराईले आवश्यक प्रक्रिया पूरा नगरी तथा फर्जी कागजातका आधारमा अनुमति पत्र जारी गरेको आरोप पुष्टि हुने आधार भेटिएपछि उनीविरुद्ध राहदानी ऐनअनुसार मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ।






