काठमाडौँ । ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकाले काठमाडौँमा बसोबास गर्दै आएका गाउँपालिकावासीलाई लक्षित गरी तीन दिने एकीकृत शिविर सञ्चालन गरेको छ।
गाउँ कार्यपालिकाको निर्णयअनुसार साउन २५ देखि २७ गतेसम्म काठमाडौँको जोरपाटीस्थित चामुण्डा गेट नजिकैको शेर्पा पार्टी प्यालेसमा शिविर आयोजना गरिएको हो। वडा कार्यालयबाट प्रवाह हुने सेवा नागरिकको नजिकबाट सर्वसुलभ रूपमा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
शिविरबाट जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदलगायत व्यक्तिगत घटना दर्तासम्बन्धी सेवा प्रदान गरिएको थियो। सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, भूमि कर तथा मालपोत संकलन र राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी सेवा पनि उपलब्ध गराइएको थियो।
गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत नबिना गिरीका अनुसार शिविरमा अपाङ्गता परिचयपत्र र ज्येष्ठ नागरिक प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।
शिविरका क्रममा आर्थिक वर्ष २०८२/८३ को आय-व्यय विवरण प्रस्तुत गरिएको थियो। नागरिकका गुनासा, सल्लाह तथा सुझाव संकलन गर्नुका साथै उनीहरूले उठाएका प्रश्नको जनप्रतिनिधि र कर्मचारीका तर्फबाट जवाफ दिइएको गिरीले बताइन्।







