काठमाडौँ । कैलालीको बर्दगोरिया गाउँपालिका–१ कट्टिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
सोमबार बिहान करिब ८ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६९५ नम्बरको ट्रकले सोही दिशातर्फ गुडिरहेको लुम्बिनी प्रदेश ०१–०१० प ००४५ नम्बरको विद्युतीय स्कुटरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा स्कुटर चालक बर्दगोरिया गाउँपालिका–४ निवासी ६२ वर्षीया सावित्रीदेवी सापकोटा गम्भीर घाइते भएकी थिइन्। उनको दोदोधरा अस्पताल प्रालि, मुडागाउँमा उपचारका क्रममा बिहान ८:४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्रक चालक नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६ डण्डा निवासी २६ वर्षीय दिनेश गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनामा संलग्न ट्रक र स्कुटरसमेत इलाका प्रहरी कार्यालय सडकपुरको नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






