काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सभाका सदस्य सन्तोषकुमार पाण्डेयसँग पार्टीको निर्णय र निर्देशन उल्लंघन गरेको विषयमा लिखित जवाफ मागेको छ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित पाण्डेयले प्रदेश सरकारको विश्वासको मतसम्बन्धी मतदानमा पार्टीको निर्णयअनुसार मतदान नगरेको भन्दै केन्द्रीय कार्यालयले स्पष्टीकरण सोधेको हो।
जसपा नेपालले पाण्डेयलाई पठाएको पत्रमा सात दिनभित्र आफ्नो धारणा लिखित रूपमा पेस गर्न भनिएको छ। पत्रमा पार्टीको नीति, निर्णय तथा प्रदेशसभा सदस्यलाई दिइएको निर्देशन विपरीत उनको मतदान भएको उल्लेख गर्दै त्यसको कारण स्पष्ट गर्न आग्रह गरिएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिएका थिए। मतदानअघि जसपा नेपालले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने तथा विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो। पार्टीले आफ्ना प्रदेशसभा सदस्यलाई पनि सोही निर्णयअनुसार मतदान गर्न निर्देशन दिएको थियो।
तर, विश्वासको मतसम्बन्धी प्रक्रियामा पाण्डेयले सरकारको पक्षमा मतदान गरेको पार्टीको दाबी छ। त्यसलाई पार्टीको आधिकारिक निर्णय र निर्देशनसँग असंगत कदमका रूपमा व्याख्या गर्दै केन्द्रीय कार्यालयले स्पष्टीकरण मागेको हो।
पार्टीले पठाएको पत्रमा पाण्डेयसँग मुख्यतः चार विषयमा धारणा मागिएको छ। पार्टीको निर्देशन हुँदाहुँदै सरकारको पक्षमा मतदान गर्नुको कारण, उक्त कार्यबाट पार्टी अनुशासन उल्लंघन भए-नभएको, पार्टी विधानअनुसार कारबाही आवश्यक पर्ने वा नपर्ने तथा यस सम्बन्धमा उनको आफ्नै धारणा के हो भन्नेबारे स्पष्ट पार्न भनिएको छ।
जसपा नेपालका महासचिव डा. सुरेन्द्रकुमार झाले हस्ताक्षर गरेको पत्रमा निर्धारित अवधिभित्र जवाफ प्राप्त नभए वा प्राप्त स्पष्टीकरण सन्तोषजनक नभए पार्टीको विधान तथा सम्बन्धित निर्णयअनुसार थप कारबाही अघि बढाउन सकिने उल्लेख गरिएको छ।
पाण्डेयसँग स्पष्टीकरण मागिएसँगै लुम्बिनी प्रदेश सरकारप्रतिको समर्थन र विश्वासको मतका विषयमा जसपा नेपालभित्र देखिएको मतभेद औपचारिक संगठनात्मक प्रक्रियामा प्रवेश गरेको छ। अब सांसद पाण्डेयले पेस गर्ने जवाफका आधारमा पार्टीले आगामी राजनीतिक तथा सांगठनिक निर्णय लिने अवस्था बनेको छ।







