काठमाडौँ । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो महिनामा नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रतिबद्धता अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा घटेको छ। उद्योग विभागका अनुसार साउनमा १ सय ९१ वटा उद्योग तथा परियोजनाका लागि कुल ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ।
गत आर्थिक वर्ष २०८२-८३ को साउनमा भने १ सय २७ परियोजनामार्फत २४ अर्ब १० करोड ४९ लाख रुपैयाँ एफडीआई प्रतिबद्धता आएको थियो। अघिल्लो वर्षको तुलनामा यस वर्ष प्रतिबद्ध रकममा ठूलो गिरावट देखिएको हो।
गत वर्षको कुल प्रतिबद्धतामा एउटा ठूलो परियोजनाको हिस्सा उल्लेख्य थियो। नेपालबाट चीनतर्फ भैँसीको मासु निर्यात गर्ने ‘प्रोसेस्ड कुक्ड बफेलो मिट फ्याक्ट्री’ परियोजनाका लागि मात्रै २० अर्ब ४५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो। त्यसको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिनामा ठूलो परिमाणको लगानी प्रतिबद्धता एउटै परियोजनामा आएको देखिँदैन।
साउनमा प्राप्त लगानी प्रतिबद्धतामध्ये अधिकांश साना तथा मध्यमस्तरका परियोजनामा केन्द्रित रहेको विभागको विवरणले देखाएको छ। लगानी स्वीकृतिको माध्यमतर्फ भने अटोमेटिक रुटबाट आउने प्रतिबद्धताको हिस्सा बढेको छ। सरकारले अटोमेटिक रुटबाट स्वीकृत हुने वैदेशिक लगानीको अधिकतम सीमा हटाएपछि यो माध्यमबाट परियोजना स्वीकृत हुने क्रम बढेको हो।
साउनमा स्वीकृत वैदेशिक लगानी परियोजनाको संख्याका आधारमा सूचना प्रविधि क्षेत्र सबैभन्दा अगाडि रहेको छ। यस क्षेत्रमा १ सय २८ वटा उद्योग दर्ता भएका छन्। यद्यपि, ती परियोजनाका लागि आएको कुल एफडीआई प्रतिबद्धता ५६ करोड ९८ लाख रुपैयाँमा सीमित छ।
परियोजनाको संख्यामा पर्यटन क्षेत्र दोस्रो स्थानमा छ। साउनमा पर्यटनसँग सम्बन्धित ३३ उद्योग दर्ता भएका छन् भने ती परियोजनामा १ अर्ब ६३ करोड ७८ लाख रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ। रकमका आधारमा भने पर्यटन क्षेत्रले सूचना प्रविधिलाई पछाडि पारेको छ।
सेवा क्षेत्रका १९ उद्योगका लागि ६८ करोड २० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। परियोजनाको संख्याका आधारमा यो क्षेत्र तेस्रो स्थानमा रहेको छ।
उत्पादनमूलक उद्योगतर्फ ९ परियोजना दर्ता भएका छन्। ती उद्योगका लागि ८४ करोड ३२ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ।
कृषि र ऊर्जा क्षेत्रमा भने साउनमा एक-एकवटा उद्योग दर्ता भएका छन्। दुवै क्षेत्रमा २–२ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ।
समग्र तथ्यांकले चालु आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक लगानी परियोजनाको संख्या बढे पनि अघिल्लो वर्षको तुलनामा कुल प्रतिबद्ध रकममा भने तीव्र संकुचन आएको देखाएको छ। अघिल्लो वर्षको असाधारण ठूलो परियोजनाको प्रतिबद्धताले समेत दुई आर्थिक वर्षबीचको तुलनात्मक अन्तरलाई फराकिलो बनाएको छ।






