काठमाडौँ । बालाजुस्थित एक छात्रावासमा खाद्य सामग्रीको गुणस्तर तथा सरसफाइमा समस्या देखिएपछि प्रशासनले कारबाही गरेको छ। छात्रावासमा खानामा किरा भेटिएको र छात्रालाई धम्की दिइएको सम्बन्धमा सामाजिक सञ्जालमार्फत प्राप्त उजुरीका आधारमा गरिएको अनुगमनका क्रममा मापदण्डविपरीत अवस्था भेटिएपछि कारवाही गरिएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौँ र प्रहरी वृत्त बालाजुको संयुक्त टोलीले बालाजुस्थित ‘न्यू फेमिली गर्ल्स होस्टेल’ मा अनुगमन गरेको थियो। अनुगमनका क्रममा छात्रावासको सरसफाइको अवस्था कमजोर हुनुका साथै खाद्य सामग्रीसमेत अस्वस्थ तथा उपभोगका लागि अनुपयुक्त अवस्थामा रहेको पाइएको प्रशासनले जनाएको छ।
खानामा किरा भेटिएको तथा छात्रालाई धम्की दिइएको विषयमा सामाजिक सञ्जालमार्फत गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँ र प्रहरी वृत्त बालाजुको संयुक्त टोलीले त्यसलाई आधार बनाएर स्थलगत निरीक्षण गरेको थियो।
अनुगमनबाट देखिएका कैफियतका आधारमा प्रचलित कानुनअनुसार छात्रावास सञ्चालकलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। साथै थप सञ्चालन रोक्न छात्रावासलाई सिलबन्दी गरिएको प्रहरीले जनाएको छ






