काठमाडौँ । रसुवामा भदौ १० गते आएको बाढीबाट प्रभावितहरूको हवाई उद्धार जारी छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत विभिन्न स्थानबाट हालसम्म १२ जनाको उद्धार गरिएको छ भने प्रभावित क्षेत्रमा सेना र निजी कम्पनीका गरी १२ वटा हेलिकोप्टर परिचालन गरिएका छन्।
नेपाली सेनाबाट प्राप्त विवरणअनुसार स्याफ्रुबेँसीबाट ६, मैलुङबाट दुई र धुन्चेबाट चार जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। तीन स्थानबाट गरी हालसम्म उद्धार गरिएकाको संख्या १२ पुगेको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाका चारवटा हेलिकोप्टर परिचालन गरिएको छ। त्यस्तै, निजी कम्पनीका आठवटा हेलिकोप्टर पनि उद्धार कार्यमा खटिएका छन्। यससँगै प्रभावित क्षेत्रमा हवाई उद्धारमा परिचालित हेलिकोप्टरको संख्या १२ पुगेको छ।
उद्धारसँगै प्रभावित तथा उद्धार गरिएकालाई आवश्यक आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ। नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रबाट आकस्मिक उपचार सेवा प्रदान गरिरहेको छ।
बाढी प्रभावित क्षेत्रमा हवाई उद्धार र आकस्मिक उपचार सेवा जारी रहेको प्राप्त विवरणमा उल्लेख छ।






