काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतमा राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले बुधबार साँझ प्रधानमन्त्री शाहसँग टेलिफोन कुराकानी गर्दै बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिबारे जानकारी लिएका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार उनले विपद्मा परेका नागरिकको उद्धार र बेपत्ताको खोजीलाई तीव्र बनाउन तथा प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउन राज्यका सबै निकाय प्रभावकारी रूपमा परिचालन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री शाहले बाढीबाट भएको जनधनको क्षति र खोज तथा उद्धारको पछिल्लो अवस्थाबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए। नागरिकको उद्धार र राहतका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको तथा सम्भव भएसम्मका सबै स्रोत जुटाउन सरकारले कुनै कमी नगर्ने प्रधानमन्त्रीले बताएका छन्।
यसअघि राष्ट्रपति पौडेलले रसुवा र नुवाकोट हुँदै बग्ने भोटेकोशी नदीमा अचानक आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका थिए।
उनले विपद्को यस घडीमा खोज, उद्धार र राहतलाई तीव्र बनाउन सरकार, राजनीतिक दल, सामाजिक सङ्घसंस्था, सुरक्षा निकाय तथा आमनागरिकलाई समन्वय र सहकार्यका लागि आह्वान गरेका छन्।






