काठमाडौँ । विपद्का बेला शव व्यवस्थापन कसरी गर्ने भन्नेबारे फेसबुकमा ‘फोकटको सल्लाह’ दिएका कोशी प्रदेशका सचिव कोशहरि निरौलालाई त्यसको भोलिपल्टै रसुवाको बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनको जिम्मेवारी दिइएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्री स्तरीय निर्णयबाट निरौलालाई रसुवाको टिमुरे क्षेत्रमा केन्द्रित भई बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनका लागि काजमा खटाएको हो।
संयोग के छ भने निरौलाले हिजो मात्रै फेसबुकमा कोभिडकालमा मोरङको प्रमुख जिल्ला अधिकारी रहँदाको अनुभव सुनाउँदै शव व्यवस्थापनबारे आफ्नो धारणा राखेका थिए।
‘फोकटको सल्लाह दिन मन लाग्यो’
निरौलाले आफ्नो फेसबुक स्टाटसको सुरुमै लेखेका छन्, ‘हतार गरेर चितवनमा लास गाडेको समाचार सुनेपछि एउटा फोकटको सल्लाह दिन मन लाग्यो। हुनसक्छ म धेरै गाली खान्छु।’
त्यसपछि उनले कोभिड महामारीका बेला आफू मोरङको प्रमुख जिल्ला अधिकारी रहेको र मानिसहरूको ज्यान जान थालेपछि शव व्यवस्थापनको विषय जटिल बनेको अनुभव उल्लेख गरेका छन्।
कोभिडबाट मृत्यु भएकाको अन्तिम संस्कारको जिम्मा नेपाली सेनाको रहेको उल्लेख गर्दै उनले त्यसबेला सुरक्षा समितिबाट एउटा निर्णय गराएको र घाटमा बनाइएको नेपाली सेनाले पुर्याइदिने व्यवस्था मिलाएको अनुभव स्ट्याटसमा सुनाएका छन्।
निरौलाले कोभिडबाट मृत्यु भएका सबैको अन्तिम संस्कार एउटै तरिकाले गर्ने निर्णय आफूलाई उचित नलागेको प्रसङ्गसमेत उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘कोभिड सकिने बेलासम्म सुनसरीका धेरै घाटमा यसरी जलाउन समेत दिइएन तर मोरङमा सहज भएकाले धरानमा विरोधलाई समेत मोरङमा ल्याएर दाहसंस्कार गरिएको थियो।’
मृतकको धर्म, परम्परा र संस्कारअनुसार अन्तिम संस्कार गर्न सुझाव
निरौलाले अहिलेको विपदमा पनि मृतकको अन्तिम संस्कार गर्दा सम्भव भएसम्म मृतक र परिवारको धर्म, परम्परा, रीतिरिवाज तथा संस्कारलाई ध्यान दिनुपर्ने धारणा राखेका थिए ।
उनले स्ट्याटसमा लेखेका थिए, ‘मृतक वा परिवार गुमाएका, हराएका आफन्तले रसुवादेखि गण्डक ब्यारेजसम्म आफन्तको सास वा लास खोज्छन्।’
त्यसैले आफ्नो धर्म, परम्परा, रीतिरिवाज र संस्कारअनुसार अन्तिम संस्कार गर्न पाउने वातावरण बनाइनुपर्ने उनको सुझाव छ।
उनले शव व्यवस्थापनका क्रममा आफन्तको भावनामा चोट पुग्ने काम नगर्न पनि आग्रह गरेका छन्। यद्यपि अहिले उनले आफ्नो स्ट्याटस हटाई सकेका छन् ।
स्टाटसको भोलिपल्टै रसुवा खटाउने निर्णय
शव व्यवस्थापनबारे यस्तो धारणा सार्वजनिक गरेको भोलिपल्टै मन्त्री प्रतिभा रावलले निरौलालाई रसुवामा खटाउने निर्णय गरेकी छिन् ।
पत्रमा रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेका व्यक्तिहरूको खोज, उद्धार, राहत व्यवस्थापन, सम्पर्क र समन्वय गर्न सरकारका सबै निकायबाट पूर्ण क्षमतामा जनशक्ति परिचालन भइरहेको उल्लेख गर्दै रसुवाको उच्च भौगोलिक संवेदनशीलता, पहिरो तथा बाढीको निरन्तर जोखिम तथा हराएका, बेपत्ता एवं मृत्यु भएका व्यक्तिहरूको खोज, उद्धार, राहत एवं शव व्यवस्थापन गर्न गृह प्रशासन तथा विपद् व्यवस्थापन क्षेत्रमा अनुभवी कर्मचारी परिचालन गर्नुपर्ने आवश्यकता रहेको मन्त्रालयले जनाएको छ।
सोही आवश्यकताका आधारमा मन्त्री स्तरीय निर्णयअनुसार निरौलालाई काजमा खटाइएको पत्रमा उल्लेख छ।
टिमुरेमा केन्द्रित भएर शव व्यवस्थापन
मन्त्रालयले निरौलालाई रसुवा जिल्लाको टिमुरे क्षेत्रमा केन्द्रित भई एवं जिल्ला प्रशासन कार्यालय रसुवालाई सम्पर्क कार्यालयका रूपमा प्रयोग गरी बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनका लागि काम गर्न भनेको छ।
उनको तलब तथा भत्ता कोशी प्रदेशबाटै भुक्तानी हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि काजमा खटाइएको पत्रमा उल्लेख छ।






