काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले २०८३ भदौ १० गतेको बाढी पहिरोका कारण ज्यान गुमाएका व्यक्तिको अन्त्येष्टिका लागि दाहसंस्कार तथा कृयापुत्री सम्बन्धी सेवा नि:शुल्क उपलब्ध गराउने भएको छ।
कोषले सूचना जारी गर्दै विपद्मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई धार्मिक तथा सामाजिक परम्पराअनुसार अन्त्येष्टि सम्पन्न गर्न आवश्यक सहजीकरण गर्ने जनाएको हो।
विपद्का कारण दिवंगत भएकाहरूको सम्मानपूर्वक अन्त्येष्टि सुनिश्चित गर्ने उद्देश्यले पशुपति क्षेत्र विकास कोषमा लाग्ने दाहसंस्कार र कृयापुत्रीसम्बन्धी सम्पूर्ण शुल्क छुट गरिएको कोषले जनाएको छ।
मृतकका परिवारजनलाई अन्त्येष्टि प्रक्रियामा आवश्यक सहयोग तथा समन्वय उपलब्ध गराउने व्यवस्था पनि मिलाइएको छ।
सेवासम्बन्धी थप जानकारी तथा आवश्यक सहजीकरणका लागि अधिकारीको ९८५१०६४२७४ र पशुपति क्षेत्र विकास कोषको ०१४५७१८२८ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।







