काठमाडौँ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित बालबालिकाका फोटो र भिडियो सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक नगर्न आग्रह गरेको छ।
परिषद्ले २०८३ भदौ १५ गते जारी गरेको विज्ञप्तिमार्फत उद्धार, राहत, सहयोग तथा अन्य सेवा प्रदान गर्ने क्रममा खिचिएका बालबालिकाका तस्बिर तथा भिडियो अनधिकृत रूपमा पोस्ट तथा प्रसारण नगर्न सम्बन्धित व्यक्ति तथा संस्थाहरूलाई आग्रह गरेको हो।
परिषद्का अनुसार फेसबुक, मेसेन्जर, युट्युब, टिकटक, इन्स्टाग्राम, मेटा, लिंक्डइन, थ्रेड्स, स्न्यापच्याट, भाइबर, ह्वाट्सएप तथा एक्सरट्विटरलगायत सामाजिक सञ्जालमा यस्ता सामग्री सार्वजनिक गर्दा बालबालिकाको गोपनीयता र मर्यादामा असर पर्न सक्ने भएकाले विशेष संवेदनशीलता अपनाउन आवश्यक छ।
बाढीबाट प्रभावित बालबालिकालाई लक्षित गरी उद्धार, राहत वा अन्य सेवा उपलब्ध गराउँदा उनीहरूको व्यक्तिगत गोपनीयता, सम्मान र मर्यादा संरक्षण गर्न परिषद्ले आग्रह गरेको छ। त्यस्ता गतिविधिको प्रचार वा सार्वजनिक प्रस्तुतीकरणका क्रममा समेत बाल अधिकारसम्बन्धी संवेदनशीलता कायम गर्नुपर्ने परिषद्को भनाइ छ।
परिषद्ले पीडित तथा प्रभावित बालबालिकाका फोटो तथा भिडियो कुनै पनि माध्यमबाट सार्वजनिक नगर्न र नगराउन सबै व्यक्ति तथा संस्थालाई अपिल गरेको छ।







