काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज पुगेर भोटेकोशी बाढीबाट उद्धार गरी उपचार गराइरहेका व्यक्तिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री तिमिल्सिनाले शुक्रबार दिउँसो अस्पताल पुगेर उपचाररत घाइते तथा प्रभावित व्यक्तिलाई प्रत्यक्ष भेटेका हुन्।
मन्त्री तिमिल्सिनाले उपचाररत व्यक्तिसँग स्वास्थ्य अवस्था, उपचारका क्रममा देखिएका समस्या तथा अस्पतालबाट प्राप्त भइरहेको सेवाबारे जानकारी लिएका छन्।
उनले घाइते तथा प्रभावितको उपचारका लागि गरिएको प्रबन्ध र अस्पतालको समग्र व्यवस्थापनबारे अस्पतालका अधिकारीसँग पनि छलफल गरेका छन्।
अस्पतालका अधिकारीले बाढीपीडितको उपचारमा हालसम्म कुनै समस्या नरहेको र उपचाररत व्यक्तिले सहज रूपमा स्वास्थ्य सेवा पाइरहेको जानकारी गराएका छन्।
भोटेकोशी बाढीपछि उद्धार गरिएका ७८ जनालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो। अस्पतालका अनुसार शुक्रबार बिहान ९ बजेसम्म २९ जना उपचाररत छन्।
स्वास्थ्य अवस्थामा सुधार आएका अन्य व्यक्तिलाई उपचारपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
मन्त्री तिमिल्सिनाले विपद्का बेला घाइते तथा प्रभावित नागरिकको उपचार र आवश्यक स्वास्थ्य सेवामा कुनै कमी हुन नदिन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्न आग्रह गरेका छन्।
उपचारका क्रममा समस्या देखिएमा वा थप स्वास्थ्य सेवा, उपचार सामग्री तथा व्यवस्थापन आवश्यक परे सरकारले राज्यस्तरबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता उनले जनाएका छन्।
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट उद्धार गरिएका घाइते तथा प्रभावित व्यक्तिको काठमाडौँका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।






