काठमाडौँ । सरकारले नेपाल संस्कृत विश्वविद्यालयको रेक्टर (शिक्षाध्यक्ष) मा प्रा.डा. जगन्नाथ रेग्मी र रजिस्ट्रार (कुलसचिव) मा प्रा.डा. नवराज कट्टेललाई नियुक्त गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दुवै पदमा नियुक्ति गरेको प्रा.डा. कट्टेलले जानकारी दिएका छन्। नियुक्ति पत्र प्राप्त गरेपछि आफूहरू विश्वविद्यालय रहेको दाङतर्फ जाने तयारीमा रहेको उनले बताएका छन्।
यसअघि नै विश्वविद्यालयको उपकुलपति पदमा प्रा. डा. भीम खतिवडा नियुक्त भइसकेका छन्। अब विश्वविद्यालयका तीन प्रमुख पदाधिकारीको नियुक्ति प्रक्रिया पूरा भएको छ।
रेक्टर, रजिस्ट्रार र उपकुलपति गरी तीनवटै पदका पदाधिकारी खुला प्रतिस्पर्धामार्फत छनोट प्रक्रियाबाट आएका हुन्।
सरकारले पदाधिकारी छनोटका लागि प्रा. डा. माधवशरण उपाध्यायको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो। समितिले खुला प्रतिस्पर्धामार्फत छनोट प्रक्रिया सञ्चालन गरी प्रत्येक पदका लागि तीन–तीन जनाको नाम सरकारसमक्ष सिफारिस गरेको थियो।
सिफारिसका आधारमा सरकारले विश्वविद्यालयका तीन प्रमुख पदमा नियुक्ति गरेको हो।






