काठमाडौँ । गृह मन्त्रालयले दुई सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ। गृहमन्त्री सुधन गुरुङस्तरीय निर्णयबाट सिराहाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुरेन्द्र पौडेलसहित दुई सहसचिवको सरुवा गरिएको हो।
मन्त्रालय प्रशासन विशेष स्रोतका अनुसार सिराहाका प्रजिअ पौडेललाई गृह मन्त्रालयमा तानिएको छ। उनलाई तत्कालका लागि मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ।
त्यस्तै, मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाको नेतृत्व गर्दै आएका सहसचिव सुरेश पन्थीलाई कर्मचारी प्रशासन महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको छ। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख समेत बसिसकेका छन् ।
कर्मचारी प्रशासन महाशाखाले मन्त्रालय तथा मातहतका निकायको कर्मचारी व्यवस्थापनसँग सम्बन्धित महत्त्वपूर्ण काम हेर्दै आएको छ।
पौडेल मन्त्रालय तानिएसँगै सिराहाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा भने कसलाई पठाइने भन्ने विषय सार्वजनिक भइसकेको छैन।






