काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायातको सेवा दिउँसोमा मात्र सीमित नभई रातिसमेत विस्तार गर्नुपर्ने बताएकी छन् ।
ललितपुरमा आयोजित काठमाडौँ उपत्यका रात्रिकालीन बस सेवा विस्तार कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । स्थानीय सरकारको महत्त्वपूर्ण दायित्वमध्ये यातायात सेवाको विस्तार पनि रहेको उल्लेख गरिन् । उनले रात्रिकालीन बस सेवा सञ्चालनसँगै काठमाडौं उपत्यका अब दिउँसो मात्र नभई रातिसमेत चलायमान बन्ने बताइन् । डंगोलकाअनुसार वैशाख १ गतेदेखि परीक्षणका रूपमा बुढानीलकण्ठ–ललितपुरको लगनखेल र विमानस्थल–चन्द्रागिरि रुटमा रात्रिकालीन बस सेवा सञ्चालन गरिएको थियो । पहिलो ९० दिनमै ६७ हजार यात्रुले सेवा लिएको उनले जानकारी दिइन् ।
उनले सार्वजनिक यातायातलाई केवल आवतजावतको साधनका रूपमा मात्र नभई अवसर र पहुँचको माध्यमका रूपमा बुझ्नुपर्ने बताइन् नियमित कार्यालय समयबाहेक रातिसम्म काम गर्ने श्रमिक, विद्यार्थी, महिला तथा युवालाई सुरक्षित यातायात सेवाले सहज र सुरक्षित रूपमा घर फर्किने वातावरण बनाउने उनको भनाइ छ ।
उनले भनिन्, ‘स्थानीय सरकारको मूल दायित्वहरू जे जे छन् त्यसमध्ये एउटा महत्त्वपूर्ण दायित्व स्थानीय यातायात त्यसको विस्तार गर्ने त्यो पनि दिउँसो मात्रै होइन है । अब राति पनि हाम्रा यातायात चल्छ । काठमाडौं उपत्यका दिउँसो मात्र चलायमान छैन अब राति पनि चलायमान हुन्छ । जो कोहीको लागि यो शहरले सम्मानपूर्वक पहुँच योग्य हिसाबले सेवा सुविधा अगाडि बढाइरहेको छ । शहर चलायमान हुनुपर्छ भन्ने कुरामा हामी कसैको पनि दुई मत छैन । काठमाडौं अब दिनमा मात्र हैन राति पनि चलिरहेको छ जुन हामीले वैशाख १ गतेबाट ट्रायल फेजमा बुढानीलकण्ठदेखि ललितपुरको लगनखेलसम्म त्यसैगरी एअरपोर्टदेखि चन्द्रागिरीसम्म जोड्ने हामीले रुट जब तय गर्यौँ, त्यसमा पहिलो ९० दिनमा नै ६७ हजार यात्रुहरूले यो सेवा सुविधा लिनुभयो । त्यसले पनि देखाउँछ काठमाडौँ दिनमा मात्र हैन राति पनि चलायमान छ । र हामीले पब्लिक ट्रान्सपोर्टेसनको कुरा गरिरख्दाखेरि पब्लिक ट्रान्सपोर्टेसन भनेको यो बस मात्र हैन है । पब्लिक ट्रान्सपोर्टेसन भनेको अवसर पनि हो । हामीले जो १०–५ काम गर्छौँ उसलाई त्यति धेरै खासै प्रब्लम हुँदैन होला । तर जब सुरक्षित बस चल्छ तब सुरक्षित बस चलिसकेपछि नि एक जना विद्यार्थी घर फर्किने बाटो बन्छ । राति पनि काम गर्नेहरू धेरै जना हुनुहुन्छ । उहाँहरूले श्रमिक वर्गहरूले सुरक्षित महशुस गर्न पाउनुहुन्छ जब हामीले यातायात सेवालाई सुरक्षित बनाउँछौँ र सँगसँगै राति पनि यो सर्भिस लागू गरेसँगै महिला, युवा लगायत हजारौँ नागरिकहरूलाई यसले दिनदिनै हरेक दिन उहाँहरूको सेवा उहाँहरूको कर्मसँग जोडिरहेको हुन्छ र त्यो भने एउटा सिटीसँग मात्र हैन उपत्यकाको हरेक शहरसँग जोडिरहेको हुन्छ ।’
रात्रिकालीन सार्वजनिक यातायात सेवाले काठमाडौं महानगर मात्र नभई समग्र काठमाडौं उपत्यकाका विभिन्न शहरलाई आपसमा जोड्ने उनको भनाइ छ ।






