काठमाडौँ । महोत्तरीको सम्सी गाउँपालिका-२ का नेकपा एमालेका प्रदेश सदस्य एमडी महताब आलम नेकपामा प्रवेश गरेका छन्।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आलमलाई पार्टीमा स्वागत गरेका हुन्। ‘प्रचण्ड’ले खादा तथा माला लगाएर आलमलाई पार्टीमा प्रवेश गराएका थिए।
आलम आगामी स्थानीय तह निर्वाचनमा सम्सी गाउँपालिकाको अध्यक्ष पदका लागि एमालेबाट सम्भावित उम्मेदवारका रूपमा चर्चामा थिए। उनको पार्टी प्रवेशसँगै महोत्तरीमा नेकपाको संगठन विस्तारमा थप प्रभाव पर्ने पार्टीका नेताहरूको दाबी छ।
पार्टी प्रवेशपछि आलमले जनताको अधिकार, सुशासन र समृद्धिको पक्षमा अघि बढ्ने उद्देश्यसहित आफू नेकपामा आएको प्रतिक्रिया दिएका छन्। उनले जनअधिकार तथा सुशासनका लागि आफ्नो राजनीतिक सक्रियता निरन्तर रहने बताएका छन्।






