काठमाडौँ । कर्जा प्रवाहका क्रममा व्यवसायीबाट ७४ लाख रुपैयाँ घुस लिएको अभियोगमा नेपाल बैंक लिमिटेडका तत्कालीन सञ्चालक समिति अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीलाई विशेष अदालतले दोषी ठहर गरेको छ।
विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले सोमबार फैसला गर्दै अधिकारीलाई दोषी ठहर गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन व्यवसायीसँग घुस लिएको अभियोगमा अधिकारीसहितका प्रतिवादीविरुद्ध २०८२ जेठमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
सोही मुद्दामा प्रतिवादी बनाइएका सुमित्राकुमारी घिमिरे र ईश्वरीप्रसाद गौतमलाई भने अदालतले सफाइ दिएको छ।
अधिकारीलाई के कति सजाय हुने भन्ने विषय फैसलाको पूर्ण पाठ तथा सजाय निर्धारणसम्बन्धी आदेशबाट स्पष्ट हुने बताइएको छ।



