काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले अगामी स्थानीय तह निर्वाचनमा ७ सय ५३ मध्ये १ सय स्थानीय तहको प्रमुख वा अध्यक्ष महिलालाई उम्मेदवार बनाउने संकल्प गरेका छन् ।
सोमवार काठमाडौँको खुलामञ्चमा जारी पार्टीको १५औँ महाधिवेशनको बन्द सत्रमा बोल्दै सभापति थापाले यस्तो संकल्प गरेको बताएका हुन्।
यसका लागि पार्टी केन्द्रीय कार्यालयमा इलेक्सन ब्युरो बनाउने सभापति थापाको भनाइ छ । उनका अनुसार उक्त ब्युरोले उम्मेदवार चयन गर्नेछ ।
उनले महाधिवेशन सकिए लगत्तै लिडरसिप एकेडेमी शुरु गर्ने समेत बताए । उनले अगामी निर्वाचनमा लिडरसिप एकेडेमीको कोर्स पूरा गरेका व्यक्ति मात्रै उम्मेदवार बन्न पाउने बताए।
सभापति थापाले काँग्रेस कार्यालयलाई टिकट बाँडफाँड गर्ने कार्यालय नभई ज्ञान निर्माणको थलो बनाइने पनि बताए ।
उनले भने, ‘काँग्रेसको कार्यालय अब टिकट बाँड्ने, टिकट लिने कार्यालय हैन काँग्रेसको कार्यालयहरु अब ज्ञान निर्माण गर्ने थलो हुनुपर्छ । नागरिकको विषयहरूमाथि छलफल गर्ने केन्द्र बन्नुपर्छ भन्ने प्रस्ताव मैले यहाँ गरेको छु । अब पार्टीको संरचना पनि परिवर्तन हुन्छ । केन्द्रीय कार्यालय रहन्छ । त्यहाँ एउटा संरचना रहन्छ इलेक्सन ब्युरो । त्यसले के गर्छ, जस्तो मैले यो पटक एउटा संकल्प गरेको छु कि ७ सय ५३ पालिकामध्ये कम्तिमा पनि सय वटा पालिकामा मेयर वा अध्यक्ष महिलालाई बनाउनुपर्छ । त्यो पूरा गर्नको लागि इलेक्सन ब्युरोले काम गर्छ ।’
सभापति थापाले पार्टी संरचना, अगामी ४ वर्षको कार्यनीतिसहितको राजनीतिक प्रतिवेदन जारी महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गरेका छन् ।



