काठमाडौँ । लोक सेवा आयोगले नेपाल शिक्षा सेवाअन्तर्गत विद्यालय निरीक्षक र पाठ्यक्रम अधिकृत (नेपाली) पदका विभिन्न विज्ञापन रद्द गरेको छ। सम्बन्धित पद रिक्त नरहेको र पदपूर्ति आवश्यक नभएको जानकारी प्राप्त भएपछि आयोगले विज्ञापन रद्द गरेको हो।
आयोगको सूचना तथा प्रकाशन शाखाले बिहीबार सूचना जारी गर्दै आर्थिक वर्ष २०७७-७८ मा खुला तथा समावेशी प्रतियोगिताका लागि प्रकाशित विज्ञापन रद्द गरिएको जनाएको छ।
साविकको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट माग भई प्रकाशित ती विज्ञापनअन्तर्गतका पद रिक्त नरहेको र पदपूर्ति आवश्यक नभएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगलाई पत्राचार गरेको थियो।
सोही पत्राचारका आधारमा आयोगले नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूहअन्तर्गत विद्यालय निरीक्षक तथा नेपाली उपसमूहको पाठ्यक्रम अधिकृत (नेपाली) पदका विज्ञापन रद्द गर्ने निर्णय गरेको हो।
आयोगले नेपाल शिक्षा सेवा ऐन, २०४९ को दफा १८ को उपदफा (१) बमोजिम विज्ञापन रद्द गरिएको जनाएको छ।




